काठमाडौं । सरकारले नागरिकता बनाएसँगै राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रूपमा विवरण सङ्कलन गराउनुपर्ने व्यवस्था लागु गरेपनि विवरण सङ्कलन गराउने नागरिकमा राष्ट्रिय परिचयपत्रप्रति कुनै चासो भने देखिएको छैन । राष्ट्रिय परिचयपत्रप्रति नागरिकको आकर्षण नभएका कारण महिनौँ देखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा करिब दुई हजार थान परिचयपत्र थन्किएका छन् ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रका लागि अभियान सञ्चालन गरेर विवरण सङ्कलन गराएकामध्ये हालसम्म दुई हजार ५३६ थान परिचयपत्र जिल्लामा आइपुगेको छ । बनेर आएको परिचयपत्रमध्ये हालसम्म ५७२ जनाले मात्रै आफ्नो परिचयपत्र लगेको प्रशासन कार्यालयले जनाएको छ । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा परिचयपत्र प्राप्त बने पनि सम्बन्धित व्यक्ति परि चयपत्र लिन नआएको बताइन् । उनले परिचयपत्र लिन आउनका लागि सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज पठाउने तथा परिचयपत्र लिन आउन कार्यालयको आधिकारिक सामाजिक सञ्जालबाट आह्वानसमे त गरिएको बताइन् । परिचयपत्र लिन सम्बन्धित व्यक्ति नआएका कारण कार्यालयलाई ती परिचयपत्र सुरक्षित राख्ने चुनौतीसमेत थपिएको छ ।
“राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गराउनुपर्ने व्यवस्था गरेपछि कतिपय व्यक्तिले विदेशबाट नेपालमा आएर विवरण सङ्कलन गराएको हुनाले पनि परिचयपत्र लिन आउनेको सङ्ख्या कम भएको हो कि भन्ने आकलन गरि एको छ,” प्रजिअ शर्माले भनिन् । प्रशासन कार्यालयले नागरिकता बनाएको एक सातापछि राष्ट्रिय परिचयपत्रको फोटो खिच्ने व्यवस्था गरेको छ भने राहदानी बनाउने तथा नवीकरण गर्न आउने सेवाग्राहीलाई समेत अनिवार्य रूपमा परिचयपत्रका लागि विवरण सङ्कलन गराउनुपर्ने व्यवस्था गरेको छ । काभ्रेपलाञ्चोक जिल्लामा २०७७ असार ७ देखि जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गराउने अभियान सञ्चालन गरिएको थियो ।


