images
images

गाउँपालिका टुक्र्याउने प्रस्ताव गाउँसभाबाट पारित


  • 318
    SHARES
  • २०७८ बैशाख १९ गते आइतबार

    गाउँपालिका टुक्र्याउने प्रस्ताव गाउँसभाबाट पारित

    रुकुम । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकालाई दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ । चौधवटा वडा रहेको पुथाउत्तरगङ्गा गाउँपालिकालाई सात÷सातवटा वडा रहने गरी पुथा र उत्तरगङ्गा गरी दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको हो । 

    भौगोलिक हिसाबले विकट, छरिएर रहेका बस्तीहरुले गर्दा नागरिकलाई सहजरूपमा सेवा प्रवाह गर्न समस्या भइरहेको छ । नागरिकको सहजताका लागि उनीहरुकै माग र सल्लाह सुझावअनुसार गाउँपालिकालाई टुक्र्याएर दुईवटा बनाउने निर्णय गरिएको हो ।

    गाउँसभाले पारित गरेको पुथा गाउँपालिकामा हालको १ देखि ६ सम्मका वडा र ९ नं वडालाई मिसाउने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल) ले जानकारी दिइन्। उनका अनुसार उत्तरगङ्गा गाउँपालिकामा ७ र ८ नं वडासँगै १० देखि १४ नंसम्मका वडाहरु रहनेछन् । यस्तै १२ नं वडामा रहेको जाजरबाङ गाउँलाई १३ नं वडामा मिलाउने प्रस्ताव पनि पारित भएको छ । 

    सिस्ने गाउँपालिका १ र २ नं वडाले छुट्टै गाउँपालिका प्रस्ताव गरेमा पुथाउत्तरगङ्गा गाउँपालिकाको ७ र ८ नं वडालाई त्यसमा मिलाएर एउटा गाउँपालिका बनाउने प्रस्तावलाई पनि गाउँसभाले पारित गरेको उपाध्यक्ष मल्लले बताए।

    गाउँसभाबाट दुईवटा गाउँपालिका बनाउन भनेर पारित गरेको निर्णयलाई स्वीकृतिका लागि जिल्ला समन्वय समितिमार्फत प्रदेश हुँदै सङ्घमा सिफारिस हुने कानूनी प्रावधान रहेको छ । 

    स्थानीय तहलाई हेरफेर गर्नुपरेमा स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि गाउँसभाबाट प्रस्ताव पारित भएको हुनुपर्ने प्रावधान छ । सोहीअनुरुप पुथाउत्तरगङ्गा गाउँपलिकालाई दुई टुक्रा बनाउने निर्णय गाउँसभाबाट पारित गरेको जनाइएको छ ।

    अहिले रुकुमपूर्वमा सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गरेर जम्मा तीनवटा गाउँपालिका रहेका छन् । स्थानीय तहको हिसाबले हेर्न हो भने रुकुमपूर्व सबैभन्दा सानो जिल्ला हो । 


    images

    Logo