काठमाडौं । साउदी अरबमा विदेशी कामदारका लागि नियम बदलिएको छ । साउदी सरकारको आधिकारीक वेबसाइट ‘साउदी गजेट’ मा प्रकाशन भए अनुसार सरकारले विदेशी घरेलु कामदार भर्नाका लागि जारी गरिएको भिसा नियमलाई कडाइ गर्ने प्रयास गरेको छ ।
साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले नयाँ नियम जारी गर्दै साउदी अरेबियाका अविवाहित पुरुष वा महिलालाई घरेलु कामका लागि विदेशी कामदार भर्ना गर्न रोक लगाएको हो ।
अब कुनै पनि अविवाहित साउदी नागरिकले २४ वर्ष पुगेपछि मात्रै विदेशी नागरिकलाई घरेलु काममा लगाउन सक्नेछन् । यी सर्तहरू पूरा भएपछि मात्र विदेशी कामदारलाई भिसा दिइनेछ ।
हरेक वर्ष ठूलो संख्यामा नेपाली कामका लागि साउदी अरब जान्छन् । उक्त निर्णयले घरेलु कामदारका रुपमा साउदी जाने नेपालीहरुलाई सोझै असर पर्ने देखिन्छ ।
अब साउदी अरेबियामा २४ वर्ष मुनिका अविवाहित नागरिकको घरमा नेपाली लगायत विदेशी कामदारले हाउस हेल्परको रुपमा काम गर्न पाउने छैनन् ।
रिपोर्टका अनुसार साउदी अरेबियाले घरेलु श्रम बजारलाई व्यवस्थित र नियमन गर्न यो निर्णय गरेको हो । साउदी मानव संसाधन मन्त्रालयले ग्राहकहरू (नियोक्ताहरू) को लागि मुसानेद प्लेटफर्म पनि स्थापना गरेको छ । जहाँ उनीहरुको अधिकार, कर्तव्य र सम्वन्धित कामको जानकारी दिइनेछ । यही मञ्चबाटै कामदारलाई भिसा दिने र कामदारबीच वार्ता गर्ने व्यवस्था मिलाइएको छ ।
यस बाहेक कामदारहरूलाई एसटीसी पे र युआर पे मार्फत तलब हस्तान्तरण गर्ने सुविधा मुसानेद प्लेटफर्ममा नै उपलब्ध गराइएको छ । घरेलु श्रम सम्झौता प्रमाणीकरण र विवाद समाधान जस्ता सुविधाहरू पनि छन् । अर्थात्, यो प्लेटफर्मले साउदी अरबमा घरेलु कामदारहरूको भर्तीको लागि आधिकारिक प्लेटफर्म प्रदान गर्दछ ।
यसको उद्देश्य नियुक्ति प्रक्रियामा पारदर्शिता ल्याउनुका साथै रोजगारदाता र श्रमिकबीचको कुनै पनि प्रकारको विवाद समाधान गरी दुवैको हकअधिकार सुनिश्चित गर्नु हो ।


