काठमाडौं । उखु किसानको आन्दोलनपछि सरकार उखुको मूल्य बढाउन सहमत भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा भएको त्रिपक्षीय छलफलमा उखुको मूल्य अहिलेको तुलनामा प्रतिक्विन्टल २५ रुपैयाँ बढाउन सरकार सहमत भएको हो ।
नयाँ मूल्यसँगै किसानले उखुको मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ पुगेको छ । नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले किसान, उद्योगी र मन्त्रालयबीच सोमबार उखुको मूल्यवृद्धिमा सहमति भएको जानकारी दिए ।
त्रिपक्षीय सहमतिअनुसार उखुको मूल्य तय भएको भनिए पनि समर्थन मूल्यबारे भने मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ । मन्त्रालयले उखुको नयाँ समर्थन मूल्यदर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको छैन ।