भक्तपुर । भक्तपुरको मध्यपुर थिमिबाट राष्ट्रव्यापी रुपमा ‘नेपाल मास्क कार्यक्रम’ सुरु भएको छ । ‘मास्क लगाऔं एक अर्कालाई बचाऔं’ भन्ने नाराका साथ सोमबार मध्यपुरथिमि नगरपालिका–४ दुईपोखरीबाट कार्यक्रमको सुरुवात गरिएको हो ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं उपत्यका नगरपालिका फोरममा सचिव मदनसुन्दर श्रेष्ठले एकैसाथ स्वयंसेवक र स्थानीयलाई मास्क वितरण गर्दै राष्ट्रव्यापी मास्क अभियान शुरु गरेका हुन् ।
कार्यक्रम ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले सबैसँग मास्क भएपनि कसैको मास्क हातमा, कसैको चिउँडोमा र कसैले खल्तीमा राखेर हिँड्ने गरेकाले प्रभावकारी नभएको बताए । महर्जनले मास्क कसरी लगाउने र कोरोना भाइरसबाट कसरी सुरक्षित हुने भनेर घरघरमा गएर जनचेतना फैलाउनु पर्ने बताए ।
कोभिडले विश्वलाईनै प्रभावित पारिरहदाँ कोरोना भाइरस विरुद्धको भ्याक्सिन आउनुभन्दा अगाडि नै मास्क प्रभावकारी देखिएको चर्चा गरे । स्थानीय सरकारले कोरोना भाइरस सङक्रमण रोक्न उल्लेख्य भूमिका निर्वाह गरेको बताउँदै उनले नेपालमा स्थानीय सरकार नभएको भए केन्द्रीय सरकारले कोरोना महामारीमा केही गर्न नसक्ने समेत ठोकुवा गरे ।
उनले कोरोना महामारी नियन्त्रणमा मध्यपुर थिमि नगरपालिका नमूना सावित भएको समेत बताए । कोरोनाको तेश्रो लहरसंग जुध्न तयारीमा सबै स्थानीय तह रहनु पर्ने भन्दै उनले पाटन दरबार क्षेत्र र सार्वजनिक क्षेत्रमा नो मास्क नो इन्ट्रि अभियान पनि चलाएको बताए ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरस दिनदिनै बढ्दै गएको र तेश्रो लहरको जोखिम बढेको अबस्थामा नेपाल मास्क अभियान मध्यपुरबाट शुरु गरिएको बताए । कोरोना प्रतिकार्यमा सफल व्यवस्थापन स्थानीय तहले गरेको भन्दै श्रेष्ठले कोरोनाबाट बच्ने सजिलो र सस्तो तरिका मास्कको सही प्रयोग नै भएको बताए ।
उनले सबै नागरिकसम्म भ्याक्सिन नपुगेसम्म मास्क अभियानले कोरोना संक्रमण कम हुन्छ भन्ने विश्वास रहेको भन्दै मास्क अभियानले कोभिडको तेश्रो लहरलाई परास्त गर्न कोशेढुङा सावित हुने दाबी समेत गरे ।
२० पटक धोएर प्रयोग गर्न मिल्ने मास्क वितरण
मध्यपुर थिमिमा सोमबारबाट बंगलादेशबाट आएको पाँच लाख मास्क वितरण सुरु भएको छ । १५ जना स्वयंसेवक प्रत्येक घरघरमा पुगेर मास्क वितरण गर्ने तयारी थालिएको हो । स्वयंसेवकले मास्क लगाउने तरिका सिकाउँदै मास्क वितरण गर्नेछन् ।
स्वयंसेवकले एउटा घरमा तीन जनासम्मको परिवारमा २५ वटा र तीनभन्दा बढीको लागि ५० वटा मास्क निःशुल्क वितरण गर्नेछन् । यो मास्क २० पटकसम्म धोएर पुनः प्रयोग गर्न मिल्ने खालको छ ।


