काठमाडौं । मधेश प्रदेश सरकारले उखु किसानलाई प्रतिक्विन्टल १० रुपैयाँ अनुदान दिने भएको छ । बिहीबार प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले किसानलाई प्रदेश सरकारबाट उखुमा प्रतिक्विन्टल १० रुपैयाँ अनुदानको व्यवस्था गर्ने सहमति गरेका हुन् ।
बुधबार बसेको केन्द्रीय सरकारको मन्त्रिपरिषद्को वैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको थियो । जसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने र ७० रुपैयाँ सरकारले अनुदान दिने निर्णय गरेको थियो ।
सरकारले निर्धारण गरेको उक्त मूल्य किसानको हितमा नभएको भन्दै उखुको मूल्य वृद्धिसहितका माग राखेर किसान शेख इस्तियार सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योगको मूलगेटमा आमरण अनशनमा बसेका थिए । उनको अनशन तोड्ने क्रममा मुख्यमन्त्री यादवले किसानलाई प्रदेश सरकारबाट उखुमा प्रतिक्विन्टल १० रुपैयाँ अनुदानको व्यवस्था गर्ने सहमति गरेका हुन् ।
यस वर्षको लागि उखुको मूल्य प्रतिक्विन्टल ७५० कायम गर्नुपर्नेसहितका विभिन्न माग गर्दै गएको सोमबार बिहानदेखि उनी चिनी उद्योगको मूलगेटमा आमरण अनशन बसेका थिए । सरकारले यस वर्षको लागि उखुको मूल्य गत वर्षभन्दा प्रतिक्विन्टल २५ रुपैयाँ वृद्धि गरेको र उनले उठाउँदै आएका कतिपय माग प्रदेश सरकारले पूरा गर्ने आश्वासन मुख्यमन्त्री यादवले दिएपछि इस्तियारले अनशन तोडेका छन् ।
इस्तियारलाई अनशन तोडाउन मुख्यमन्त्री यादवले सात बुँदे सहमति गरेका छन् । जसमा उखुको मूल्य प्रतिक्विन्टल ७५० कायम गर्न मदेश प्रदेश सरकारले संघीय सरकारकारसँग पहल गर्ने, प्रदेश सरकारले उखुमा प्रतिक्विन्टल १० रुपैयाँ अनुदान दिने, किसानलाई उन्नत जातको उखुको बिउ उपलव्ध गराउने, कृषियोग्य जमिनमा सिंचाइको व्यवस्था गर्ने, किसानलाई चाहिने मल खाद प्रदेश सरकारले उपलव्ध गराउने लगायतका विषय समेटिएको छ ।



