काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस)को लागि आवेदन दिनेको संख्या हालसम्मकै उच्च रहेकाे छ । तोकिएको निश्चित अवधि समाप्त समेत नहुँदै करिब एक लाख २५ हजार जनाले आवेदन दिएका हुन् ।
पुस २ गतेदेखि इपीएसको लागि फारम खुला भएकामा शुक्रबार राति १२ बजेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । यो संख्या अनलाइन प्रणालीबाट फारम भर्ने सुविधा आएयताकै उच्च आवेदन परेको इपिएस शाखाले जनाएको छ ।
गत साउनमा भएको परीक्षामा अनुत्तीर्ण भएकाहरूले पनि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएकाले यो संख्या बढेको वैदेशिक रोजगार विभागका इपीएस शाखा प्रमुख गुरुदत्त सुवेदीले बताए ।