काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ४ सय १४ जना विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति पाएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार २०८०/८१ को साउनदेखि मंसिरसम्म उक्त संख्यामा विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् ।
गत आर्थिक बर्ष २०७९/८० मा दुई हजार ९९४ जना विदेशीले नेपालमा श्रम स्वीकृति पाएका थिए । जसमा नयाँ १ हजार ३६९ जना र श्रम नवीकरण गर्नेको सङ्ख्या एक हजार ६२५ जना रहेको थियो । यस्तै, आर्थिक बर्ष २०७८/७९ मा यो सङ्ख्या दुई हजार १८१ जना थियो । जसमा नयाँ ९५० जना थिए भने श्रम नवीकरण गर्ने एक हजार २३१ जना थिए ।
नेपालबाट भने ५ महिनाको अवधीमा रोजगारको लागि झण्डै ३ लाख नागरिक कामको खोजीमा विदेशिएका छन् । विभागका अनुसार यस अवधिमा ५४५ जना गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरण भएको छ ।


