images
images

फौजी कीराले लाखौं मूल्य बराबरको अन्नबालीमा क्षति


  • 609
    SHARES
  • २०७८ बैशाख १९ गते आइतबार

    फौजी कीराले लाखौं मूल्य बराबरको अन्नबालीमा क्षति

    रावाबेँशी । असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोप फैलिएपछि जिल्लाका किसान चिन्तित बनेका छन् । केही दिनदेखि निरन्तर परिरहेको असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोपसमेत फैलिएपछि किसान चिन्तित बनेका हुन् । 

    फौजी किराले प्रमुख बालीका रूपमा लगाइएको मकैका बिरुवाको मुन्टा, गुभो, पात खाएर नष्ट गरेको छ । मकै उम्रिएर तीन÷चार पात पलाउँदादेखि गोडमेल गर्ने बेला भएको र गोडमेल गरिसकेको बिरुवालाई फौजी किराले नष्ट गर्दा उत्पादन घट्ने र खाद्यान्न सङ्कट निम्तिने डरले किसान चिन्तित भएका छन्।  

    असिनापानीका कारण रावाबेँशी गाउँपालिकाको एउटै वडामा लाखौँ मूल्य बरारबको अन्नबालीमा क्षति पुगेको जनाइएको छ । यही वैशाख २ गते परेको असिनाले उक्त गाउँपालिकाको वडा नं ६ हौंचुरको पैयाँमा करीब ५२ हेक्टर क्षेत्रफलमा लगाइएको रु २३ लाख बराबरको अन्नबाली नोक्सान गरेको जनाइएको छ । 

    हरेक वर्ष फौजी किराको प्रकोप देखिने गरे पनि नियन्त्रणमा स्थानीय सरकारको ध्यान नपुगेको किसानको गुनासो छ । केही वर्षदेखि जिल्लामा प्रकोपकै रुपमा वर्षेनि देखापर्ने फौजी किराले गत वर्ष जिल्लाका अधिकांश स्थानीय तहका किसानले लगाएका अन्नबाली तथा वनजङ्गल नै सखाप पारेको थियो । 

    अमेरिकन फौजी किरा भनेर चिनिने धुस्रे किराले २०७७ सालमा अधिकांश स्थानीय तहका बेँशी क्षेत्रका मकै सखाप पारेको थियो । विगतका वर्ष कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहले विषादी खरीद गरेर किसानलाई बाँडे पनि फौजी किराको प्रकोप घट्नुको सट्टा बढिरहेको किसानहरुले बताएका छन् । 

    प्रकोप देखिएका क्षेत्रमा विषादी हाल्दा फौजी किरा नियन्त्रणमा आए पनि नयाँ–नयाँ ठाउँमा फैलिने गरेको हलेसी तुवाचुङ नगरपालिकाका कृषक तामन राईले बताउनुभयो । बेँशी क्षेत्रका खेतबारीमा लगाइएको मकैमा फौजी किराको प्रकोप अधिक देखिए पनि लेकाली क्षेत्रका मकैमा भने यसको प्रकोप देखिएको छैन । 

    कृषि क्षेत्रमा राज्यको ठूलो लगानी भए पनि स्थानीयस्तरमा जैविक विषादी तयार पारेर फौजी किरा नियन्त्रण गर्ने प्रयास सफल भएको छैन । जिल्लाका हरेक स्थानीय तहले कृषि उपज उत्पादन तथा निर्यातमा जोड दिने उद्देश्यले कृषि क्षेत्रमा लगानी गरेका छन् । 


    images

    Logo