काठमाडौं । नेपाल आयल निगमको ५४ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा मंगलबार निगमको केन्द्रीय कार्यालय टेकुमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
निगमले विगत एक दशक भन्दा अघिदेखि नै प्रत्येक वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । यसपटकको कार्यक्रममा निगमका कर्मचारी, पूर्व कर्मचारी र तिनका परिवारका सदस्य समेत गरी १ सय ५१ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा १७६ पटक रक्तदान गरेका प्रेम सागर कर्माचार्यले निगमलाई कम्तीमा वार्षिक रूपमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्न सुझाव दिएका थिए । रक्तदान कार्यक्रमका संयोजक विकास बखतीले उक्त सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।