images
images

७८ हजार उद्योगी–व्यवसायी कालोसूचीमा, ६ महिनामै २२ हजार थपिए


  • 431
    SHARES
  • २०८० पौष २७ गते शुक्रबार

    ७८ हजार उद्योगी–व्यवसायी कालोसूचीमा, ६ महिनामै २२ हजार थपिए

    काठमाडौं । वैदेशिक रोजगारीमा नगई स्वदेशमै केही गर्ने भनेर व्यवसाय थालेका प्रवीण गुरुङले ऋण लिँदा धितो राखेको जमिन लिलामीमा चढेको छ । गुरुङले काठमाडौंमा कपडाको पसल सुरु गरे । व्यवसाय सुरु गरेपछि कोभिड महामारी सुरु भयो। व्यापार नभएपछि लगानी डुब्यो । ‘व्यवसाय राम्रो नहुँदा बैंक ऋणको साँवा–ब्याज तिर्न सकिनँ,’ गुरुङले भने, ‘ऋण व्यवस्थापन गर्न नसकेपछि बैंकले धितो लिलामी निकालेको छ ।’

    कोभिड महामारीपछि मुलुकको अर्थतन्त्रमा परेको असरले उद्योगी–व्यवसायी समस्यामा परेका छन् । व्यावसायिक वातावरण बिग्रिँदा गुरुङजस्ता धेरै उद्योगी–व्यवसायीले ऋण तिर्न नसकेपछि कत्तिको धितो लिलामीमा परेको छ भने हजारौं कालोसूचीमा परेका छन् ।

    मुलुकको अर्थतन्त्र शिथिल हुँदा त्यसको असर व्यापार–व्यवसायमा परेको हो । बजारमा अपेक्षित माग सिर्जना हुन नसक्दा अर्थतन्त्रमा सुस्तता देखिएको हो । आर्थिक शिथिलता आउँदा उद्योगी व्यवसायी कालोसूचीमा पर्ने क्रम बढेको छ । ऋणीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेर तथा चेक बाउन्सका कारण कालोसूचीमा पर्नेको संख्या दिनानुदिन बढिरहेको छ ।

    कोभिडपछि कालोसूचीमा पर्नेको संख्या बर्सेनि दोब्बर हुँदै गएको कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरले बताए । कुँवरका अनुसार चालु आर्थिक वर्षको साउनयता कालोसूचीमा पर्नेको संख्या २२ हजार थपिएको छ । केन्द्रका अनुसार बिहीबाहरसम्म ७८ हजार ५९८ जना कालोसूचीमा परेका छन् ।

    दैनिक डेढ सय जना कालोसूचीमा परिरहेको प्रवक्ता कुँवरले बताए । गत आर्थिक वर्ष २०७९/८० मा ३४ हजार कालोसूचीमा परेका थिए। आव २०७८/७९ मा १५ हजार ९९५, आव २०७७/७८ मा ६ हजार ५१४ जना कालोसूचीमा परेका थिए । त्यसैगरी आव २०७६/७७ मा ४ हजार ६२० जना र २०७५/७६ मा २ हजार ५३७ कालोसूचीमा परेका थिए ।

    ऋणीले बैंक तथा वित्तीय संस्थाबाट लिएको सावाँ–ब्याज तिर्न नसक्दा तथा भुक्तानी गर्नुपर्नेलाई दिएको चेकको खातामा पर्याप्त रकम नहुँदा चेक बाउन्स भएपछि कालोसूचीमा पर्छन् । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको व्यक्तिले नौ महिनासम्म नियमानुसार ऋणको ब्याज तिरेन भने सम्बन्धित संस्थाको सिफारिसमा कालोसूचीमा राख्ने गरेको केन्द्रले जनाएको छ । कसैलाई दिएको चेक तीनपटकसम्म बाउन्स भएको भने उजुरीका आधारमा र बैंक तथा वित्तीय संस्थाको सिफारिसमा कालोसूचीमा राखिन्छ ।

    मुलुकको व्यावसायिक वातावरण नसुध्रिँदा कालोसूची र लिलामी बढिरहेको बैंकरहरू बताउँछन् । एकै दिन इटहरीदेखि मार्तडीसम्मका करिब एक सयवटा लिलामीको सूचनामा आफूले हस्ताक्षर गरेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले बताए । ‘लिलामी र कालोसूचीमा पर्ने उद्योगी, व्यवसायीको संख्या निकै बढिरहेको छ,’ शेरचनले भने, ‘व्यापार, व्यवसाय खस्किँदा समस्या सिर्जना भयो ।’

    व्यापार–व्यवसाय खस्केको र उद्योगहरू क्षमतामा चल्न नसकेको हुँदा लिलामी र कालोसूची बढेको उनले बताए । 


    images

    Logo