काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्द रहेका पुराना उद्योगहरु सञ्चालन गरेर रोजगारी सिर्जना गर्नेबारे पहल भइरहेको बताएका छन् । सोमबार नेकपा माओवादी केन्द्र निकट संगठन प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा अयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कार्यको तयारी गरिएकोबारे बताएका हुन् ।
प्रचण्डले हिजै मात्र दुई चारवटा नयाँ कामहरु अगाडि बढाउने हामीले निर्णय गरेको बताए । ‘विराटनगर जुटमिल, हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो उद्योगजस्ता बन्द उद्योगहरु सञ्चालन गर्ने बारेमा कतिपयलाई सिधै पीपीपी मोडलमा र कतिपय नेपाली सेनालाई सञ्चालन गर्न दिनेबारे ठोस् निर्णय गरिएको छ । यो सरकार पुनाना उद्योग सञ्चालन गर्ने र त्यसबाट रोजगारी र उत्पादनको नयाँ युगतिर देशलाई लैजाने संकल्पको साथ अगाडि बढेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
यी उद्योगहरु विभिन्न कालखण्डमा बन्द भएर अहिले रुग्ण अवस्थामा छन् । सरकारले केही समय बन्द भएर पुनः सञ्चालनमा आएको औषधि लिमिटेडलाई थप व्यवस्थित बनाइसकेको छ । केही समय पहिला ५/६ प्रकारका औषधि उत्पादन गर्ने उक्त कम्पनिलाई सरकारले अत्यावश्यक सबै औषधिको उत्पादन थाल्न निर्देशन दिइसकेको छ ।


