images
images

अझै कार्यान्वयन हुन सकेन ‘फ्री भिसा फ्री टिकट’ नीति


  • 354
    SHARES
  • २०८० माघ १९ गते शुक्रबार

    अझै कार्यान्वयन हुन सकेन ‘फ्री भिसा फ्री टिकट’ नीति

    काठमाडौं । नेपाल सरकारले लागु गरेको ‘फ्री भिसा फ्री टिकट’को नीति अझै कार्यान्वयन हुन सकेको छैन । खोटाङमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले सरकारले विसं २०७२ असारदेखि मलेसियालगायत खाडीमुलुकका लागि फ्री भिसा फ्री टिकटको नीति लिए पनि हालसम्म कार्यान्वयन हुन नसकेको बताएका छन् ।

    सरकारले मलेसियालगायत खाडीमुलुकका लागि रु दश हजार लागत लाग्ने नीति कार्यान्वयनको घोषणा गरेपनि मेनपावर र एजेन्टलाई तीन लाख ५० हजार रुपैयाँसम्म रकम बुझाउनुपर्ने बाध्यता अझै कायम रहेको वक्ताले बताएका हुन् ।

    विदेश जानका लागि चालू आर्थिक वर्ष २०८०/८१ मा आप्रवासी स्रोत केन्द्रबाट सेवा लिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका दुई हजार नौ सय १६ मध्ये दुई सय ९० जनासँग प्रतिक्रिया लिँदा दुई जनाले मात्रै ‘फ्री भिसा फ्री टिकट’को सुविधा लिएको पाइएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) खोटाङका संयोजक सन्तोषकुमार राईले जानकारी दिए । 

    ‘चालू आवमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मात्रै दुई हजार नौ सय १६ युवाले वैदेशिक रोजगारसम्बन्धी सेवा लिएका छन्’, उनले भने, ‘नमूनाका रुपमा दश प्रतिशतसँग प्रतिक्रिया लिँदा ३२ जनाले तालिम लिएर विदेश गएका पाइयो । तीमध्ये  दुई जना मात्र फ्री भिसा फ्री टिकटमा विदेश गएका छन् ।’

    संयोजक राईले वैदेशिक रोजगारीमा अधिकांश युवा मलेसियालगायत खाडी मुलुक गएका छन् । उनीहरूले मेनपावर कम्पनी वा एजेन्टलाई तीन लाख ५० हजारसम्म बुझाएका पाइएको उनले बताए । 

    प्रतिक्रिया लिएका दुई सय ९० मध्ये तालिम तथा सीप सिकेर जानेमा ३२ जना, विदेश नजाने निर्णयमा पुगेका ९०, नेपालमै स्वरोजगारको बाटो अपनाएका २०, विदेश जाने तयारीमा रहेका ८८, विदेश जान असफल भएका सात र विदेश जाने वा नजाने भन्ने निर्णय लिन नसकेका ५३ जना रहेका राईले जानकारी दिए । 
        
    सरकारले लागू गरेको फ्री भिसा फ्री टिकटको सुविधाअनुसार मलेसिया, साउदी अरब, कतार, युएई, ओमान, बहराइन र कुवेत जानका लागि मेनपावरलाई दश हजार रुपैयाँ तिरे पुग्छ । अहिले पनि मेनपावर र एजेन्टले वैदेशिक रोजगारीमा जाने युवासँग लाखौँ रकम लिएर खाडीमुलुक पठाउने गरेका अन्तरक्रिया कार्यक्रमका सहभागीले बताएका छन् । 


    images

    Logo