काठमाडौं । सरकारले हवाई उडानमा प्रतिबन्ध लगाए पनि यती एयरलाइन्सले पूर्वनिर्धारित उडान नरोक्ने भएको छ । एयरलाइन्सले सोमबार बिहान सूचना जारी गर्दै यती एअरलाइन्स र तारा एअरले आजकोलागि पूर्वनिर्धारित सम्पूर्ण उडानहरु यथावत रहेको जनाएको हो ।
आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकहरुबीचको छलफलले उडान सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रत्येक २० मिनेटमा एउटा उडानको कोटा गरेको थियो । सहमति अनुसार यतीले १० वटा उडान गर्ने कोटा पाएको थियो ।
तर, आइतबारकै साँझ बसेको मन्त्रीपरिषदको बैठकले सोमबार राति १२ बजे पश्चात् आन्तरिक उडान बन्द गर्ने निर्णय गरेपछि यात्रुहरुको सुबिधालाई ध्यानमा राखी सोमबारका लागि निर्धारित सम्पूर्ण उडान यथावत राख्ने यती एअरलाइन्सले जनाएको छ ।
यती एअरलान्सका प्रवक्ता सुदर्शन बर्तौलाले मंगलबारदेखि भने सम्पूर्ण उडान बन्द हुने बताए । कोटा प्रणाली अनुसारको उडान तालिकामा कतिपय गन्तव्यका हाम्रा उडान बन्द गर्नुपरेको थियो, अब आज सम्पूर्ण उडान यथावत रहनेछ, बर्तौलाले भने ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यका लागि यति एअरलाइन्सले २५ र तारा एअरले ८ वटा उडान तालिका निर्धारण गरेको एअरलाइन्सले जनाएको छ ।


