images
images

७ महिनामा २२ अर्ब ६८ करोड वैदेशिक लगानी प्रतिवद्धता


  • 358
    SHARES
  • २०८० फाल्गुण १ गते मंगलबार

    ७ महिनामा २२ अर्ब ६८ करोड वैदेशिक लगानी प्रतिवद्धता

    काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा २२ अर्ब ६८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागको तथ्यांक अनुसार माघसमम्मा २४१ वटा नयाँ उद्योगका लागि २२ अर्ब ६८ करोड १५ लाख १७ हजार रुपैयाँ बराबरको प्रतिवद्धता प्राप्त भएको हो । 

    ७ महिनाको अवधिमा साना २२६, मझौला १२ र ठूला ३ उद्योगका लागि उक्त लगानी प्रतिवद्धता प्राप्त भएको हो । उक्त प्रतिबद्धता अनुसार लगानी भित्रिए १२ हजार ६ सय ९२ जनाले रोजगारी पाउने विभागले जनाएको छ।

    त्यसैगरी विभागले माघसम्ममा ३१ वटा सेयर खरिद सम्झौतालाई पनि स्वीकृति दिएको छ। जसबाट ४ अर्ब ८५ करोड ७३ लाख ९ हजार ९ सय ६९ रुपैयाँ विदेशी लगानी भित्रिने विभागको भनाई छ। माघमा मात्रै यस्तो स्वीकृति ३ वटाले पाएका छन् जुन ८४ करोड ७० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता हो।

    विभागका अनुसार सोही अवधिमा ३१ वटा प्रविधि हस्तान्तरण सम्झौतालाई स्वीकृति दिएको छ। माघमा मात्रै दुई वटा यस्ता सम्झौताले स्वीकृति पाएका छन्।

    क्षेत्रगत रुपमा ७ महिनामा आएको लगानी उत्पादन, ऊर्जा, कृषि, पर्यटन, खानीजन्य, सेवा, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा भित्रिएको हो। यसअनुसार ७ महिनामा पर्यटनमा ४५ प्रतिशत, सेवातर्फ ३६ प्रतिशत, उत्पादनतर्फ ११ प्रतिशत, सूचना प्रविधितर्फ ३ प्रतिशत, पूर्वाधारतर्फ २ प्रतिशत, ऊर्जामा शून्य, खनिजमा १ र कृषिमा २ प्रतिशत लगानी प्रतिबद्धता आएको विभागले उल्लेख गरेको छ।

    चालु आर्थिक वर्षको माघ महिनामा १५ उद्योगका लागि साढे ३४ करोडको वैदेशिक लगानी स्वीकृत भएको छ । माघ महिनामामा चालु आर्थिक वर्षको यस अवधिसम्मको सबैभन्दा कम लगानी प्रतिवद्धता प्राप्त भएको हो ।

    माघ महिनामा जम्मा १५ परियोजनाका लागि ३४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ । माघमा १५ वटा साना परियोजनाका लागि मात्र लगानी प्रतिवद्धता प्राप्त भएको हो । यो महिनामा मध्यम र ठूला कुनै पनि उद्योगका लागि वैदेशिक लगानीको प्रतिवद्धता प्राप्त हुन सकेको छैन ।

    विभागका अनुसार गत पुस महिनमा मात्रै २७ वटा उद्योगका लागि १ अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो। पुसमा साना २२ र मझौला ५ उद्योगका लागि प्रतिवद्धता प्राप्त भएको थियो ।


    images

    Logo