काठमाडौं । सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघसंस्थाहरुले भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् । सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा भएको विश्व सामाजिक मञ्चमार्फत सरकारलाई भारतमा रोजगारीका क्रममा अनौपचारिक क्षेत्रमा काम गर्ने नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन सरकारको ध्यानाकर्षण गराएको हो ।
सुरक्षित आप्रवासनमा काम गर्दै आएका संघ संस्थाले आप्रवासनमा देखिएका विभिन्न समस्याहरुमाथि गहन छलफल र विश्लेषणपछि काठमाडौं घोषणा पत्र जारी गर्दै सबै प्रकारका श्रमलाई सम्मान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
विज्ञहरुले पनि अनौपचारिक क्षेत्रमा कार्यरत कामदारहरुको हक हित र सम्मानपूर्ण जीवनका लागि कामदार पठाउने र कामदार ल्याउने दुवै देशका नीतिहरु परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याएका छन ।
कार्यक्रममा सहभागीले दक्षिण एशियाबाट श्रमका लागि अन्य मुलुकमा जाने श्रमीकहरुको हक अधिकार सुनिश्चित गर्नका लागि सबै देशहरुले एकै किसिमको आप्रवासननीति बनाउनुपर्ने आवश्यकता औल्याएका छन । दुई पक्षिय श्रम, सम्झौता र समझदारीहरुबाट श्रमीकका अधिकार, सामाजिक सुरक्षा प्रत्याभुत गर्नुपर्ने उनीहरुको भनाइ छ ।


