काठमाडौं । हवाई उडानहरु केही दिन बन्द नगर्न व्यवसायीले गरेको आग्रहलाई बेवास्ता गर्दै सरकारले अन्तराष्ट्रिय उडानहरु बन्द गर्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि लागु हुनेगरी सबै अन्तराष्ट्रिय उडानहरु बन्द गरेको हो । आन्तरिक उडान भने आज राती १२ बजेदेखि नै बन्द हुनेछ ।
प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले आन्तरिक उडान सोमबार देखि र बाह्य उडान बिहीबार रातीदेखि बन्द हुने बताए । भारततर्फ भने सातामा २ उडान हुने उनले बताए । उउटा उडान नेपाल एयरलाइन्सले गर्नेछ भने अर्को उडान एयर इण्डियाले गर्नेछ
अहिले लगाइएको प्रतिबन्ध बैशाख ३१ गतेसम्म लागु हुनेछ । कोभिड संक्रमणको न्यूनिकरण गर्न संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले सरकारलाई गरेको सिफारिस अनुसार हाललाई हवाई उडानसमेत बन्द गरिएको उनको प्रष्टोक्ति थियो ।
व्यवसायीको आग्रहको बेवास्ता
उडान प्रतिबन्ध घोषणा हुनुअघि व्यवसायीहरुले पर्यटनसचिव यादव कोइरालासँग भेट गरी उडान स्थगित गर्ने निर्णय १ साता पछि सार्न अनुरोध गरेका थिए । अग्रिम रुपमा टिकट बुकिङ भइसकेको अवस्थामा यात्रुको सुविधाको लागि भन्दै यस्तो आग्रह गरेको नेपाल ट्राभल्स एण्ड टुर्स एजेन्सी एशोसिएसन ९नाट्टा० का अध्यक्ष अच्युत गुरागाइँले जानकारी दिए ।
तर, सीसीएमसी ले नै निर्णय गरिसकेको अवस्थामा आफूले केही गर्न नसक्ने जवाफ पाएपछि आफूहरु फर्किएको उनले बताए । ‘सचिवज्यूले म केही गर्न सक्दिन, सीसीएमसीले निर्णय गरिसकेको छ । जाने भए उतै जानुस्, होइन भने क्यानको सर्कुलरको प्रतीक्षा गर्नुस् भनेपछि हामी फर्कियौं’ गुरागाइँले भने, ‘हामीले एक हप्ता पर सारौं भन्ने प्रस्ताव गरेका थियौं ।’


