images
images

सन्दर्भ : विश्व पानी दिवस : खानेपानीमा ९५ प्रतिशतको पहुँच


  • 390
    SHARES
  • २०८० चैत्र ९ गते शुक्रबार

    सन्दर्भ : विश्व पानी दिवस : खानेपानीमा ९५ प्रतिशतको पहुँच

    काठमाडाैं । गुणस्तरीय खानेपानीमा मुलुकको २५ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ । आधारभूत खानेपानीमा ९५ प्रतिशत नेपालीको पहुँच पुगेको छ । 

    आधारभूत खानेपानीलाई प्रशोधन गरी नेपाल खानेपानी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई गुणस्तरीय खानेपानी मानिएको छ भने कुनै पनि मूल वा स्रोतमा पाइप राखेर घरको आँगनसम्म पुर्‍याई पानी उपभोग गर्नुलाई आधारभूत खानेपानी मानिएको छ ।

    १५ औँ पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) मा ९९ प्रतिशत नागरिकमा आधारभूत स्तरको खानेपानी र ४० प्रतिशत नागरिकलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिएको थियो । जुन पूरा हुन सकेको छैन । १५ औँ पञ्चवर्षीय योजना चालु आर्थिक वर्ष (२०८०/८१) मा सकिँदै छ । राष्ट्रिय योजना आयोगका अनुसार गुणस्तरीय खानेपानी प्रयोग गर्ने जनसङ्ख्या सन् २०३० सम्म ९० प्रतिशत पुर्‍याउने राष्ट्रिय लक्ष्य रहेको छ ।

    खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन एकाइका सिडिई योगेन्द्र चित्रकारले खानेपानीको क्षेत्रमा आवश्यक बजेटको अभाव तथा खानेपानी आयोजना सङ्घीय, प्रादेशिक र स्थानीय तहसम्म विभाजित हुँदा खानेपानीमा १५ औँ पञ्चवर्षीय योजनाको लक्ष्य प्राप्त हुन नसकेको बताए । 

    आज विश्व पानी दिवस

    पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ शुक्रबार विश्व पानी दिवस मनाइँदै छ । यस वर्ष यो दिवस ‘शान्ति र समृद्विका लागि पानी’ भन्ने मूल नाराका साथ विभिन्न सङ्कल्प तथा जनचेतनामूलक कार्यक्रमसहित विश्वभरि नै यो दिवस मनाइँदै छ । प्राणी जगत्का लागि हावापछिको दोस्रो महत्वपूर्ण तत्व पानीलाई मानिन्छ । 

    पानीको महत्व र संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि संसारभरि हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवसका रूपमा मनाउँदै आएको छ । सन् १९९२ मा ब्राजिलको रियो डी जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्रसङ्घको भेलाले यस दिवसको घोषणा गरेको हो ।

    ‘विकासका लक्ष्य पूरा गर्न प्रेरणा मिलोस’

    यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले विश्व पानी दिवसको शुभकाना दिँदै विश्व पानी दिवसले पानीको संरक्षण र सदुपयोगमार्फत दिगो विकासका लक्ष्य परिपूर्ति गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

    बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवं प्रदूषणका कारण पानीका स्रोत नष्ट भइरहेका छन् । भूमिगत जलस्रोतको अति दोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पानी पुनर्भरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको उहाँले सन्देशमा उल्लेख गरेका छन् ।

    भविष्यमा आउन सक्ने जलसङ्कटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा पोखरी र तालतलैयाको निर्माण गर्ने जस्ता परम्परागत विधिको संवर्धन गर्न राष्ट्रपति पौडेलले सन्देशमार्फत सम्बन्धित सबैसँग आग्रह गरेका छन् ।

    सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत पुनर्भरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्ने आवश्यकता औँल्याउँदै उनले प्राचीन एवं आधुनिक प्रविधिको मिश्रण गरेर जलाशययुक्त योजनाको तर्जुमा पनि गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् ।

    उनले सन्देशमा भनेका छन्, “पानी र प्रकृतिसँग प्राणी जगत्को अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदीकिनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ ।”   


    images

    Logo