काठमाडौं । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । दानाको मूल्य बढेको र रोगका कारण कुखुरा मर्दै गएपछि लागत मूल्य उच्च हुन जाँदा मूल्य बढेको हो ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७० र मिडियमको रु ३४० पुगेको छ । यो मूल्य यसअघिको भन्दा प्रतिक्रेट ३० रुपैयाँ बढी हो ।
उनका अनुसार चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रु ३६५ पुगेको थियो । यो वर्ष दुई महिनाअघि मात्रै अण्डाको मूल्य प्रतिक्रेट ३६० रुपैयाँ पुगेकामा केही दिनपछि घटेको थियो ।
मूल्य भढे पनि कुखुरा मरेर लागत मूल्य अत्यधिक बढेका कारण उल्लेख्य मुनाफा नहुने कृषकहरु बताउँछन् । यो सिजनमा एच ९ र रानीखेत रोगका कारण झण्डै २५ प्रतिशत कुखुरा मरेको उनीहरुको भनाई छ ।
उपाध्यक्ष ओलीका अनुसार दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ । अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दासमेत लाभान्वित हुन नसकेको उनको भनाइ छ ।
सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अण्डाको मूल्य ११.५३ रुपैयाँ तय गरेपनि हाल लागत मूल्य बढेका कारण १२.३३ पर्ने गएको बताउँछन्। दानाको कच्चापदार्थको मूल्य अत्यधिक बढेपछि अण्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनार्इ छ ।
नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्कर कँडेल यसअघि प्रतिकिलो ६४ रुपैयाँमा आउने सामान्य भटमासको मूल्य बढेर रु १०८ पुगेको छ । त्यसैगरी हाइप्रो भटमास प्रतिकेजी रु ७० बाट बढेर रु ११५ पुगेको छ । तोरी, सूर्यमुखीलगायतको पिना प्रतिकिलो रु सातले बढेको भन्दै उहाँले दानामा प्रयोग गरिने भिटामिन लगायतका सामग्रीमा शतप्रतिशतसम्म मूल्य बढेको छ ।
यससँगै ढुवानीमा समेत मूल्य बढेको कँडेलको भनार्इ छ । लागत मूल्यका आधारमा दानाको मूल्य धेरै बढ्ने भए पनि किसानले धान्न मुस्किल हुने भएकाले पटक पटक गरी रु सात प्रतिकिलो मात्रै मूल्य बढेको उनी बताउँछन् । हाल लेयर्स दानाको मूल्य सरदर ६० रुपैयाँ प्रतिकिलो पर्न आउँछ ।
देशको गार्हस्थ्य उत्पादनको एक प्रतिशत अण्डाले मात्रै थेग्ने दाबी गर्दै उनले मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताए । नेपालमा दुई हजार ७०० किसानले लेयर्स कुखुरा पाल्दै आएका छन् । यी फार्ममा दुई लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको व्यवसायीहरु बताउँछन् । नेपालमा कुखुरापालन क्षेत्रमा रु एक खर्ब २५ अर्बभन्दा बढी लगानी भएको व्यवसायीहरुको भनाइ छ ।


