लुम्बिनी । लुम्बिनीमा बुद्ध जयन्ती समारोह तथा विभिन्न धार्मिक कार्यक्रम तथा ध्यान गर्न सभाहल नभएपछि विकास कोषले आधुनिक र भव्य सभाहल निर्माण शुरु गरेको हो ।
दोस्रो चरणको काम सम्पन्न हुँदा यो सभाहल नेपालकै ठूलो र अत्याधुनिक सभाहलका रूपमा तयार हुनेछ । सभाहल दक्षिण एशियामै पहिलो हुने कोषले जनाएको छ ।
यो सभाहल लुम्बिनी गुरुयोजनामा समावेश नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा र आवश्यकताका आधारमा निर्माण गरिएको कोषको भनाइ छ ।
दक्षिण एशियाकै नमूना र फरक शैलीमा स्टिल र फलामको प्रयोगबाट सभाहल डिजाइन गरिएको कोषले जनाएको छ । सभाहलको भुइँ र पिलरहरुमा ढलानपछि मोजाइक प्रयोग गरिएको छ ।
कोषका वरिष्ठ इन्जिनीयर सरोज भट्टराईका अनुसार कोरियाली गुम्बा शैलीको गोलाकार छानो र छानोको बाहिर केन्द्र भागमा बुद्धका दुईवटा आँखा स्वयम्भूका दुई आँखा को आकृति बनाउने गरी डिजाइन गरिएको छ ।
यहाँ सभाहल मात्रै ३८६.८८ वर्गमिटरको बन्दैछ । पहिलो चरणमा सभाहल, दुईवटा शौचालय र कन्ट्रोल रुम करिब सम्पन्न भएका छन् ।
हालसम्म सभाहलको भुइँ, छानो फल्स सिलिङ र अन्य फिनिसिङका काम सकिएका छन् । दोस्रो चरणअन्तर्गत साभहलको वरिपरि पार्टिसन गर्ने काम शुरु भएको छ ।
त्यस्तै दोस्रो चरणमै रोष्टममा उभिएर गरिने भाषणलाई १६ वटा भाषामा उल्था हुने अत्याधुनिक प्रविधि जडान गरिनेछ । आगामी बुद्ध जयन्तीको मूल समारोह सोही सभाहलमा आयोजना गर्न मिल्ने गरी काम भइरहेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए ।


