images
images

चिया तथा कफी निर्यातमा भारतको विकल्प खोजिँदै


  • 494
    SHARES
  • २०८१ बैशाख १५ गते शनिबार

    चिया तथा कफी निर्यातमा भारतको विकल्प खोजिँदै

    काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चिया निर्यातका लागि भारतीय बजारको विकल्प खोज्ने बेला आएको जनाएको छ । नेपाली चियाका लागि भारत निर्यातको सन्दर्भमा पटक पटक विवाद हुने गरेको छ, त्यसैले विकल्प खोज्ने बेला आएको बताएको छ । 

    कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले निर्यातमा देखिएको समस्यालाई चाँडो समाधान गरिने बताइन् । बार्डको अध्यक्षसमेत रहेकीमन्त्री साहले नेपालको निर्यात गर्ने बालीमध्ये चिया मुख्य बाली हो तर यसको निर्यातमा लामो समयदेखि विवाद रहेको बताउँदै यसका लागि आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेर यसलाई चाँडै समाधान गर्ने बताइन् । मन्त्री साह शुक्रबार कीर्तिपुरस्थित बोर्डको कार्यालय पुगेकी थिइन् । २८ औँ राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनालले नेपाली चियाको दिगो बजारीकरण गर्न अब भारतीय बजारको विकल्प खोज्न ढिलो गर्न नहुने बताएका छन् । 

    उनले भने, “नेपालले गरेको चियाको कुल निर्यातमध्ये ९७.८० प्रतिशत निकासी भारतमा नै भएको हुँदा भारतीय बजार नेपाली चियाको सबैभन्दा ठुलो बजार रहेको कुरामा दुई मत छैन । बेला बेलामा विभिन्न बहाना बनाउँदै निर्यातमा रोक लगाउने गरेका कारण भारतीय बजारको विकल्प खोज्ने बेला आइसकेको छ ।” 

    भारत सरकारले आयातसम्बन्धी नीतिमा सानो परिवर्तन मात्रै गर्दा पनि नेपालको चिया क्षेत्रमा ठुलो हलचल आउने गरेको बताउँदै उनले भने, “केही हप्ताअघि मात्रै भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागु गरेर नेपाली चियाको निर्यात रोक्दा काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीट्याङ्की नाका पुगेका १७ ट्रक तयारी चिया अलपत्र परेको थियो ।”  राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, मेची भन्सार कार्यालय, चियाका वस्तुगत सङ्घसंस्थाहरू एवं व्यवासायीहरूको संयुक्त पहलमा तत्कालका लागि भारतीय अवरोध हटे पनि समस्या समाधान नभएको उनले बताए । उनले भने, “अहिलेलाई अवरोध हटेर हाललाई ती १७ वटा ट्रक छुटेका छन् तर विगतमा पनि भारतीय पक्षबाट यस्ता अवरोध भइरहेकाले भविष्यमा फेरि विभिन्न बहानामा नेपाली चियाको निकासी रोक्ने घटना नदोहोरिएला भन्न सकिन्न ।”

    उनले चीन, पाकिस्तान, रुस, अमेरिकालगायतमा निकासी भइरहेको नेपाली चियाको परिमाण बढाउन सके बजारीकरणका समस्या समाधान गर्न सकिने बताए । 

    भारतले नेपाली चियाको गुणस्तरमा पटक पटक प्रश्न उठाएको बताउँदै बार्डका प्रमुख खनालले विश्वमै नेपाली चियाको गुणस्तर उच्च रहेको प्रमाणित भइसकेको दाबी गरे । नेपाली चियाको गुणस्तर र विषादीका अवशेषहरूलाई कारण देखाउँदै भारतीय पक्षबाट विभिन्न अवरोध हुने गरेको छ । भारतमै उत्पादन हुने चियाको तुलनामा नेपाली चियाको गुणस्तर निकै उच्च रहेको दाबी बोर्डका प्रमुख खनालको रहेको छ । 

    अमेरिका र चीनमा भएको विश्व चिया प्रदर्शनीमा नेपालको चिया उत्कृष्ट भएको र नेपालले पुरस्कार पनि पाएको बताउँदै उनले यो हिसाबले भारतभन्दा नेपालको चिया गुणस्तर रहेको पुष्टि भएको बताए ।   


    images

    Logo