काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरेको छ ।
नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाद्वारा नागढुङ्गामा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको हो ।
उक्त केन्द्रको बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले संयुक्तरूपमा शुरुआत गरे ।
काठमाडौँ उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक तथा कर्मचारीको स्वास्थ्य जाँच गरिने नगरप्रमुख गिरीले जानकारी दिए।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह, नगर प्रवक्ता हरिभक्त महर्जन, चन्द्रागिरि–२ का वडाध्यक्ष गोपी सुर्खेतीलगायतको उपस्थिति थियो ।
हालसम्म चन्द्रागिरिमा दुई हजार ३७९ जनालाई कोरोना सङ्क्रमण देखिएको नगरपालिकाका प्रवक्ता महर्जनले जानकारी दिए ।
तीमध्ये दुई हजार १८१ निको भएर घर फर्किसकेका छन् भने १५८ होम आइसोलेशन र १४ जना अस्पतालमा उपचारत छन् । हालसम्म चन्द्रागिरिमा कोरोनाका कारण २६ जनाले ज्यान गुमाइसकेका छन् ।


