images
images

गुगल प्ले स्टोरमा इ–सेवा पुनः उपलब्ध


  • 340
    SHARES
  • २०८१ श्रावण २४ गते बिहीबार

    गुगल प्ले स्टोरमा इ–सेवा पुनः उपलब्ध

    काठमाडौं । केही दिनदेखि गुगलको प्ले स्टोरबाट हटेको इसेवा एप पुन: उपलब्ध भएको छ । कम्पनीका अनुसार विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउको लागि नयाँ नीति जारी गरेको छ । 

    उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरु हटाउने गर्दै आइरहेको छ । गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्ने हुन्छ । 

    इसेवा अकाउन्ट इसेवा प्राइभेट लिमिटेडको नामले भेरिफाइड रहेको थियो तर केही समयअगाडि कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेडमा परिवर्तन भएको हुनाले गुगल प्ले स्टोरमा नाम परिवर्तन हुने क्रममा रहेको थियो । 

    इसेवाको स्थापना भएको बेला गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रा. लि. रहेको थियो । गत वैशाख २८, २०८१ देखि भने कम्पनी लिमिटेडमा रूपान्तरण भएकोले यही नाम परिवर्तनको मामिलाले इसेवाको बिजनेस भेरिफिकेसनमा कठिनाइ उत्पन्न भएको थियो ।

    गुगलले बिजनेस तथा संस्था भेरिफाइ गर्न डुन्स नम्बर प्रयोग गर्छ, जुन डुन एन्ड ब्राडस्ट्रिट नामक अमेरिकन कम्पनीले उपलब्ध गराउँछ ।

    नाम परिवर्तन प्रक्रिया भइरहँदा गुगलको सिस्टममा भएको र डुन्स नम्बरमा भएको विवरण भिन्न देखिएकोले गुगलले प्ले स्टोरमा अस्थायी समयको लागि अनुपलब्ध गराएको थियो । अहिले सो प्रक्रिया पूरा भइसकेकोले इसेवा पुनः प्ले स्टोरमा उपलब्ध भइसकेको छ । 

    कुनै पनि एपको विवरण परिवर्तन हुँदा गुगल अन्तर्गत पूरा गर्नुपर्ने प्रक्रियाहरू सम्पन्न गर्दा अस्थायी रुपमा आउन सक्ने यो एक सामान्य प्रक्रिया मात्र हो । यसै अन्तर्गत इसेवा पनि गुगल र डुन्सको कार्य प्रक्रिया भइरहदा गुगल प्ले स्टोरमा अनुपलब्ध रहेको थियो ।

    कम्पनीले यो कुनै सुरक्षा कमजोरी वा सुरक्षासम्बन्धी समस्याले नभएको स्पष्ट पारेको छ । 


    images

    Logo