चितवन । राष्ट्रिय निकुञ्जले गैँडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ गरिएका २३ जनालाई निकुञ्जले गत माघ २९ गते सार्वजनिक गरेको थियो ।
पछिल्लोपटक सोही मुद्दामा फरार रहेका धादिङका ४५ वर्षीय राजकुमार श्रेष्ठ भनिने कविराज श्रेष्ठलाई पक्राउ गरी अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र अधिकारीले जानकारी दिए ।
सार्वजनिक गरिएकामध्ये २० जनालाई चालु आर्थिक वर्षमा चार गैँडा मारेको अभियोग लागेको छ ।
अन्य तीनजना अघिल्ला आर्थिक वर्षका मुद्दामा फरार रहेका अभियुक्त रहेको उनले जानकारी दिए ।
चालु आर्थिक वर्षमा मारिएका गैँडाका मुद्दामा संलग्न २१ जनामध्ये अदालतले सात जनालाई धरौटी माग गरेको थियो भने अन्यलाई पुर्पक्षका लागि अदालत पठाइएको थियो ।
पुराना मुद्दामा फरार रहेका तीन जनालाई पनि फैसला कार्यान्वयनका लागि अदालतबाट कारागार पठाइएको अधिकारीले बताए।
निकुञ्जमा चालु आवमा प्राकृतिक कारणले २६ र चोरी शिकारीले चार गैँडा मारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।


