काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ, भक्तपुरस्थित केदार नाथको शिर डोलेश्वर लगायतका देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।
दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । त्यसैगरी डोलेश्वर मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भिड रहेको डोलेश्वर विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले बताए ।
मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा रहुन्जेल खुला गरिने बस्नेतको भनाईं छ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड देखिन्छ । बिहान केही समय वर्षाले दर्शनार्थी प्रभावित भए पनि अहिले सहज रूपमा दर्शन एवं पूजा आराधना गरिरहेका छन् ।
पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि पशुपतिमा चारवटा मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ । कोषले यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउने गरी सबै व्यवस्था गरेको जनाएको छ ।
बर्तालुको भीडलाई ध्यान दिँदै कोषले आज विशेष पूजाका लागि रसिद काटेको छैन । कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्नेगरी व्यवस्था मिलाइएको छ । बर्तालु जुन ढोकाबाट भित्र प्रवेश गर्छन् त्यसै ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ।
तीजमा दर्शन गर्ने भक्तजनका लागि दोस्रो लाइन मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्ने व्यवस्था गरिएको छ ।
तेस्रो लाइन गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल बज्रघरअघिको भागमा राखिएको छ । चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिएको छ ।
दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भाग छुट्याइएको छ । पर्वसँग सम्बन्धित सरकारी निकायका कर्मचारीको सवारी भने कोषको कार्यालय र अमालकोट कचहरीको कार्यालय परिसरमा राख्ने व्यवस्था गरिएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र कोषका सुरक्षाकर्मी सहितको एकीकृत सुरक्षा योजना लागू गरिएकाले पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ । दर्शनार्थीको भीड भएको क्षेत्रमा सवारी निषेध गरिएको छ । पशुपति क्षेत्रमा नेपाली सेनालगायतले स्वास्थ्य शिविरको सेवा दिएका छन् ।
हरितालिका तीजका अवसरमा आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ । देशभरका शिवालयमा बर्तालु महिला, पुरुषको भीड लागेको छ ।


