images
images

इपीएस सम्झौताको १७ वर्ष : अघिल्लो वर्ष दक्षिण कोरियामा धेरै कामदार पठाउनेमा नेपाल पहिलो


  • 364
    SHARES
  • २०८१ भाद्र २३ गते आइतबार

    इपीएस सम्झौताको १७ वर्ष : अघिल्लो वर्ष दक्षिण कोरियामा धेरै कामदार पठाउनेमा नेपाल पहिलो

    काठमाडाैं । दक्षिण कोरियामा कामदार पठाउनेसम्बन्धी रोजगार अनुमति प्रणाली (इपीएस) सम्झौताको १७ वर्ष भएको छ । दक्षिण कोरिया नेपाली युवाका लागि आकर्षक रोजगार गन्तव्य देशका रूपमा रहेको छ ।

    दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले पनि यो तथ्यलाई पुष्टि गर्छ । सन् २००८ देखि दक्षिण कोरियाले इपीएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । इपीएस शुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका छन् ।

    वैदेशिक रोजगार विभागअन्तर्गतको इपीएस कोरिया शाखाको तथ्याङ्कानुसार अहिलेसम्म नौ लाख १९ हजार छ सय ३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् । सन् २०२४ का लागि अहिलेसम्मकै बढी एक लाख ९९ हजार एक सय १३ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार दुई सय ८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् ।

    इपीएसअन्तर्गत वैदेशिक रोजगारीमा दक्षिण कोरिया जाने सङ्ख्या लगातार बढ्दो छ । अहिलेसम्म ९८ हजार तीन सय १० पुरुष र सात हजार दुई सय ४३ महिला गरी एक लाख पाँच हजार पाँच सय ४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका इपीएस शाखाका प्रमुख मैयाँ कँडेल बताउँछिन् । नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जान थालेको १७ वर्षको अवधिमा सबैभन्दा धेरै अघिल्लो वर्ष सन् २०२३ मा १९ हजार छ सय ८९ जना दक्षिण कोरिया गएका छन् ।

    सन् २०२३ मा नेपाल कामदार धेरै पठाउने पहिलो देश बनेको छ । दक्षिण कोरियाले इपीएसअन्तर्गत नेपालसहित इण्डोनेसिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, श्रीलङ्का, मङ्गोलिया, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बङ्गलादेश, कीर्गिस्तान, म्यानमार, टिमोर–लेस्टे, लाओस र ताजकिस्तानबाट श्रमिक भित्र्याउँदै आएको छ ।

    नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत नेपाली कामदार दक्षिण कोरिया पठाउन मन्त्रीस्तरीय सम्झौता भएको थियो । सन् २००८ देखि नेपाली श्रमिक रोजगारीका लागि दक्षिण कोरिया जान थालेका हुन् ।

    अहिले पनि दक्षिण कोरियामा झन्डै ५० हजार नेपाली श्रमिकले काम गरिरहेका शाखाका निर्देशक कँडेल बताउँछिन् । दुई देशबीचको रोजगार सम्झौता हरेक दुई/दुई वर्षमा नवीकरण हुँदै आएको छ । पछिल्लोपटक सन् २०२२ मा सम्झौता नवीकरण भएको थियो ।   


    images

    Logo