काठमाडौं । आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ लन्च गरेको छ । सोमबार मध्यरातमा एप्पलले आइफोन १६ सिरिजसहितका अन्य ग्याजेट सार्वजनिक गरेको हो।
एप्पल इन्टेलिजेन्स प्रविधि समाहित हुने पहिलो प्रोडक्टका रूपमा कम्पनीले आइफोन १६ सिरिजअन्तर्गत आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको हो । तथापl, यस प्रविधिबारे कम्पनीले गत जुनमा आयोजित आफ्नो वर्ल्डवाइड डेभलपर्स कन्फेरेन्स कार्यक्रमै घोषणा गरिसकेको थियो ।
'आज हामीले मनपराउने थुप्रै सुविधा र अनुभवहरू उपलब्ध गराउन एआई र मेसिन लर्निङ प्रविधिले उल्लेख्य भूमिका खेलेका छन्,’ कम्पनीका प्रमुख टिम कुकले सोमबारको कार्यक्रममा भनेका थिए, ‘एप्पल इन्टेलिजेन्सका लागि हामीले विशेष रूपमा डिजाइन गरेको आइफोन सिरिजबारे परिचय गराउन पाउँदा उत्साहित छौं ।’
आइफोन १६ मोडलहरूमा ए१८ प्रो चिप समावेश गरिएको छ । एप्पल इन्टेलिजेन्सका लागि यसमा दोस्रो पुस्ताको ३-नानोमिटर ट्रान्जिस्टर र नयाँ १६-कोर न्युरल इन्जिन राखिएको छ ।

यो विशेषगरी जेनेरेटिभ एआईसम्बन्धी प्रयोजनका लागि डिजाइन गरिएको हो जसले डिभाइसको सिस्टम मेमोरी ब्यान्डविथमा १७ प्रतिशतले वृद्धि गर्ने कम्पनीले जनाएको छ । आइफोन १६ मा ४८-मेगापिक्सेलको ‘फ्युजन क्यामरा’ र टेलिफोटो सुविधा रहनुका साथै १२० फ्रेम पर सेकेन्डमा फोर के भिडियो खिच्न पाइने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै, प्रो मोडलहरूमा रेकर्डिङ स्टुडियोकै गुणस्तरको भ्वाइस रेकर्डङ सुविधा थपिएको छ । यति मात्र नभएर ‘अडियो मिक्स’ फिचर राखिएको छ र कम्पनीले यसलाई समग्र स्मार्टफोन उद्योगमै पहिलोपटक यस्तो सुविधा ल्याइएको दाबी गरेको छ । मेसिन लर्निङ प्रविधिको सहयोगले भ्वाइस रेकर्डिङ एपमा वक्ता र पृष्ठभूमिको ध्वनि छुट्याउन सकिने कम्पनीले उल्लेख गरेको छ ।
यही वर्षको अन्त्यसम्ममा सार्वजनिक गरिने भनिएको भ्वाइस मेमो एपमा भने एउटा अडियोमाथि अर्को अडियो राख्न मिल्ने गरी ‘ट्रयाक लेयर’ सुविधाले संगीतकर्मी, पडकास्टरलगायतलाई अडियो मिक्सका लागि सहजता उपलब्ध गराउने भनिएको छ ।
आइफोन १६ को मूल्य ७ सय ९९ डलर, आइफोन १६ प्लसको ८ सय ९९, आइफोन १६ प्रोको ९ सय ९९ र प्रो म्याक्सको मूल्य १ हजार १ सय ९९ डलरबाट सुरु हुन्छ । शुक्रबारबाट अग्रिम अर्डर दिन सकिने कम्पनीले जनाएको छ । आईफोन १६, आईफोन १५ प्रो र आईफोन प्रो म्याक्समा उपलब्ध हुने भनिएको एप्पल इन्टेलिजेन्स सुविधा अहिलेलाई बेटा भर्सनमा मात्रै रहेको र यो पनि अर्को महिनादेखि मात्रै उपलब्ध हुँदै छन् । यसले आइफोनको डिजिटल भ्वाइस एसिसेन्ट सिरिको लागि नयाँ युगको प्रारम्भ गर्ने दाबी गरिएको छ ।

नयाँ लुकमा सार्वजनिक गरिएको एप्पल वाचमा प्रयोगकर्ताको निन्द्रा ट्रयाक गर्ने प्रविधि विकास गरिएको छ। निन्द्रमै सास रोकिएको खण्डमा एप्पल वाचले डिटेक्ट गर्नेछ। तर, अमेरिकी सरकारले यसलाई स्वीकृति दिन भने बाँकी छ। कम्पनीमा अनुसार यो फिचर १५० भन्दा बढी देशहरुमा उपलब्ध हुनेछ।
एप्पल वाच ३० मिनेटमा ८० प्रतिशत चार्ज र ब्याट्री लाइफ १८ घण्टा हुनेछ। यो २० फिट पानीमुनीसम्म डुब्न सक्नेछ। कम्पनीले एप्पल वाच १० को मूल्य ४ सय डलरबाट सुरु हुने घोषणा गरेको छ ।


