images
images

वैदेशिक रोजगारीका लागि २ महिनामै बाहिरिए १ लाख १७ हजार नेपाली


  • 399
    SHARES
  • २०८१ आश्विन ८ गते मंगलबार

    वैदेशिक रोजगारीका लागि २ महिनामै बाहिरिए १ लाख १७ हजार नेपाली

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा १ लाख १७ हजार नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८१ को साउन र भदौमा १ लाख १७ हजार ६८ जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका हुन् । 

    गत आर्थिक वर्षको भदौको तुलनामा यसपटक रोजगारीका लागि विदेशिनेको संख्या बढेको छ । आर्थिक वर्ष २०८०/८१ को भदौमा ५० हजार ८८४ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । उक्त संखया यसपटक बढेर ५७ हजार ४९३ पुगेको छ । 

    बैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको श्रम स्वीकृत सम्बन्धी तथ्यांक अनुसार विदेश जान अनुमति लिएका कुल संख्यामध्ये ३९ हजार ५५७ जना पहिलो पटक वैदेशिक रोजगारमा गएका हुन् ।  बाँकी १७ हजार ९३७ जना भने पूरानै श्रम स्वीकृत नवीकरण गराएर गएका हुन् । 

    चालु आवको भदौमा नेपालीहरु रोजगारीका लागि ९५ वटा मुलुकमा गएका छन् । त्यसमा युएईमा सबै भन्दा धेरै कामदार गएको देखिन्छ । समीक्षा महिनामा त्यहाँ १८ हजार ६०५ जना नेपाली रोजगारीका लागि गएका छन, जसमा १४ हजार ४२४ जना नयाँ श्रम स्वीकृत लिएका छन् । 

    दोस्रो स्थानमा भने कतार रहेको छ । भदौमा कतारमा ११ हजार २९१ जना नेपाली रोजगारीका लागि गएका छन् । त्यसमा चार हजार ८४४ जना नयाँ श्रम स्वीकृत लिएका छन् । तेस्रो स्थानमा रहेको साउदी अरबमा १० हजार ८३५ जना नेपाली रोजगारीका लागि गएको देखिन्छ । त्यसमा सात हजार २४६ जना नयाँ श्रम स्वीकृत लिएका छन् । 

    यस्तै, कुवेतमा चार हजार २१५, रोमनियामा एक हजार ८८८, जापानमा एक हजार ४५६, मलेसियामा एक हजार १९३ र कोरियामा एक हजार १०६ जना रोजगारीमा गएका छन् । यी बाहेक अन्य देशमा पनि नेपालीहरु बैदेशिक रोजगारीका लागि गएका छन् । 


    images

    Logo