गण्डकी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण ज्येष्ठ नागरिकलाई आश्रय दिँदै आएका वृद्धाश्रममा पनि प्रभाव परेको छ ।
महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको अवस्थामा त अघिपछि आउने दाता पनि नआउने भएपछि दैनिक खर्च धान्न पनि मुस्किल भएको सञ्चालकको भनाइ छ ।
आध्यात्मिक जागरणका साथै सामाजिक सेवामा समेत अग्रणी बन्दै आएको पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर तथा यहाँ सञ्चालित वृद्धाश्रम तथा गुरुकूलको नियमित सञ्चालनमा कोरोना कहरले प्रभावित बनाइहेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव घनश्याम खनालले बताए ।
मन्दिर स्थापनाको पाँच दशकभन्दा बढी भइसकेको अवस्थामा यहाँको राधाकृष्ण मन्दिरसँगै यसको सक्रियतामा विसं २०६८ देखि वृद्धाश्रम र २०७० देखि गुरुकूल संस्कृत सञ्चालन हुँदै आएका छन् ।
विसं २०७० मा स्वीकृति प्राप्त गरी २०७१ बाट सञ्चालनमा आएको गुरुकूलमा कक्षा ६ देखि १० सम्मको अध्ययन÷अध्यापन हुँदै आएको छ ।
वृद्धाश्रमका साथै गुरुकूलका विद्यार्थीको आवास तथा भोजन व्यवस्थापनमा मासिक रु डेढ लाखसम्म खर्च हुने गरेको उल्लेख गर्दै उनले सम्पूर्ण खर्च दान तथा सहयोगबाटै जुटाइने गरेको बताए ।
कोरोना कहरका कारण हुने गरेका निषेधाज्ञाले दाता आउने क्रम बन्द हुँदा दैनिक कसरी खर्च जुटाउने भन्ने चिन्ता हुने गरेको उनको भनाइ छ ।


