images
images

स्वास्थ्य बीमा कार्यक्रम लागु हुँदा उपचार गर्न आउने बढे


  • 569
    SHARES
  • २०७८ कार्तिक २ गते मंगलबार

    स्वास्थ्य बीमा कार्यक्रम लागु हुँदा उपचार गर्न आउने बढे

    वालिङ । सरकारले लागु गरेको स्वास्थ्य बीमा कार्यक्रमका कारण सर्वसाधारणहरु बिरामी हुँदा अस्पताल आउने क्रम बढेको छ । वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा स्वास्थ्य बीमा लागू भएसँगै स्वास्थ्य जाँच गराउनेको सङ्ख्या बढ्दै गएको हो । यसअघि अस्पताल नै नआउने, निजी क्लिनिक, फार्मेसी तथा पोखरा, पाल्पाका अस्पतालमा गएर उपचार गर्नेहरु पनि स्वास्थ्य बीमा कार्यक्रम लागु भएपछि उपचार गराउन वालिङ आउन थालेका छन् । 

    गह्रौँ प्राथमिक अस्पतालमा २०७६ जेठ १ गतेदेखि लागू भएको स्वास्थ्य बीमाबाट स्वास्थ्य जाँच गराउने, औषधि लिनेको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको अस्पतालको बीमा शाखामा कार्यरत  प्रमोद जिसी (शंकर) ले जानकारी दिए ।

    अस्पतालमा गत वैशाख १ देखि भदौ मसान्तसम्म पाँच महिनाको अवधिमा ७ हजार ८ सय ३५ ले स्वास्थ्य सेवा लिइसकेका छन् । त्यस्तै २०७७ को वैशाखदेखि चैत मसान्तसम्म कूल २० हजार ४ सय ७७ र २०७६ जेठ १ देखि चैत मसान्तसम्म १४ हजार १ सय ९९ बीमितले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालमा स्वास्थ्य बीमा लागू भएदेखि गत भदौ मसान्तसम्ममा कूल ४२ हजार ५ सय ११ जना बीमितले बीमा कार्डमार्फत् स्वास्थ्य उपचार तथा औषधि लिएका जिसीले बताए ।

    स्याङ्जा जिल्लाकै मध्यभाग वालिङमा रहेको गह्रौँ प्राथमिक अस्पतालमा वालिङ नगरपालिकासहित, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका तथा छिमेकी जिल्ला दक्षिण पर्वत र पाल्पाको केही भागका बिरामीले यहाँबाट सेवा लिने गरेका अस्पतालले जनाएको छ । “अस्पतालमध्ये भाग वा धेरै ठाउँको पायक पर्ने स्थानमा भएकाले पनि यहाँ जिल्लाका अन्य स्वास्थ्य संस्थाको तुलनामा धेरै बिरामी स्वास्थ्य सेवा लिन आउने गर्नुहुन्छ”, जिसीले भने, “यहाँबाट दैनिक ९० बढी बिरामीले स्वास्थ्य सेवा लिनुहुन्छ ।” 
     
    वालिङ नगरपालिकाभित्र २१ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेकाले उनीहरूका नगरपालिकाले निःशुल्करूपमा स्वास्थ्य बीमा गरिदिने नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । “स्वास्थ्य बीमा गर्नतर्फ वालिङका नागरिकलाई प्रेरित गरेका छौँ”, प्रमुख खाँणले भने, “जसले स्वास्थ्य बीमा गर्न सक्दैनन्, जसको आर्थिक अवस्था कमजोर छ उनीहरुको निःशुल्क बीमा नगरपालिकाले गरिदिन्छौँ ।” वालिङ प्राथमिक अस्पतालमा स्वास्थ्य बीमा गर्नेको छुट्टै लाइन बनाइएको र बिना झण्झट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको प्रमुख खाँणले बताए ।

    नगरपालिकाले न्यून आय भएका वा गरिबीको रेखामुनि रहेका २१ प्रतिशत नागरिक तथा राष्ट्रिय र स्थानीय तहका खेलाडी तथा परिवारको नगरपालिकाले निःशुल्क बीमा गरिदिने प्रमुख खाँणले बताए । स्याङ्जा जिल्लाभरिमै सबैभन्दा राम्रो र धेरैले सेवा लिने गह्रौँ प्राथमिक अस्पताल भएकाले यसलाई नमूनाको रुपमा अगाडि बढाउन सकिने राष्ट्रिय बीमा बोर्डका सिनियर अहेब भगवान रेग्मीले बताए ।

    अस्पतालले बीमाबाट पाउने औषधि पर्याप्त मात्रामा उपलब्ध गराउनुका साथै राम्रो सेवा दिएका कारण स्वास्थ्य जाँच गराउन वा औषधि लिन आउनेको सङ्ख्यामा वृद्धि भएको हो । जिल्लाका अन्य पालिकामा रहेका स्वास्थ्य संस्थामा भन्दा यस स्वास्थ्य संस्थाले बीमाबापतको रकम बीमा बोर्डबाट धेरै भित्र्याउने गरेको दाबी रेग्मीको छ ।

    प्राप्त हुने औषधि सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको अस्पतालले जनाएको छ । कोभिड–१९ को महामारीका समयमा यस अस्पतालमा वालिङ नगरपालिकाले आइसोलेसन सेन्टर स्थापना गरी निःशुल्क उपचारको व्यवस्था मिलाएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिए । यहाँ भर्ना भएर बसेका कोरोना सङ्क्रमित तथा कुरुवालाई नगरपालिकाले निःशुल्क खाना, खाजा तथा औषधिसमेत उपलब्ध गराएको थियो ।

    केही समयअघि शेयरकास्ट इनिसियटिभ नेपालले गरेको मत सर्भेक्षणका आधारमा वालिङस्थित यस अस्पतालले कोरोना रोकथाम तथा नियन्त्रणका क्षेत्रमा निक्कै उदाहरणीय र प्रशंसनीय रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो ।


    images

    Logo