images
images

आधिकारिक रुपमा नै नेपालमा दर्ता भयो टिकटक, राजस्व उठाउने बाटो खुला


  • 488
    SHARES
  • २०८१ कार्तिक २१ गते बुधबार

    आधिकारिक रुपमा नै नेपालमा दर्ता भयो टिकटक, राजस्व उठाउने बाटो खुला

    काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ । टिकटक तिहार अगावै नेपालमा दर्ता भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले तिहारअगावै टिकटकको दर्ता प्रक्रिया सम्पन्न भएको बताएका हुन् ।

    सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक दर्ता भएको उनको भनाइ छ । नेपालले हामीले राखेका सवै सर्तहरू र निर्देशिकाले व्यवस्था गरेका विषयहरूमा सहमत भएको भनेर टिकटकले पत्राचार गरेको र सोहीबमोजिम दर्ता प्रक्रिया पूरा गरी दर्ता भएको उनले जानकारी दिए ।

    उनले दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि दर्ता गरिएको बताए । टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्ने जनाएको छ ।

    सरकारले २०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । तर भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको थियो । यससँगै आधिकारिक दर्ता गरेर सञ्चालन गर्नको लागि टिकटकले समय माग गरेको थियो ।

    आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट पनि राजस्व उठाउने बाटो खुलेको र नियमन पनि सहज रूपमा गर्न सक्ने मन्त्रालयका प्रवक्ता ठाकुरले बताए ।


    images

    Logo