काठमाडौं । कोभिड–१९ को दोस्रो लहरका कारण संक्रमण बढ्दै गएपछि देशका ६७ जिल्लामा निषेधाज्ञा जारी भएका छन् । देशका ७७ जिल्लामध्ये अब १० जिल्लामा मात्रै त्यस्तो आदेश जारी हुन बाँकी छ ।
त्यसरी निषेधाज्ञा हुन बाँकी जिल्लाहरुमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, रसुवा, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । ती जिल्लाहरुमा पनि सीमा नाका आवतजावतमा कडाई गरिएको छ भने केही गाउँपालिकाका सीमित वडाहरुमा आवतजावत बन्देज गरिएको छ ।
काठमाडौं उपत्यकामा निषेज्ञाज्ञा घोषणा हुनुअघि केही सीमित जिल्लाले यस्तो आदेश जारी गरेका थिए । तर उपत्यकामा निषेधाज्ञा जारी भएपछि अरु जिल्लाहरुले पनि धमाधम आवतजावत बन्द गर्न थालेका हुन् ।
निषेधाज्ञा लगाइए पनि योपटक अघिल्लो वर्षको जस्तो कडाई भने गरिएको छैन । यसले गर्दा अघिल्लो वर्षको लकडाउनजस्तो अप्ठ्यारो परिस्थिति देखिएको छैन । त्यसो त, निषेधाज्ञाको घोषणा हुनुअघि अनुकुल ठाउँमा जाने समय दिएकोले पनि यस्तो समस्या नदेखिएको अधिकारीहरु दाबी गर्छन् ।


