images
images

निगमले भोलिदेखि भैरहवा–दुवई उडान सुरु गर्ने


  • 481
    SHARES
  • २०८१ कार्तिक २२ गते बिहीबार

    निगमले भोलिदेखि भैरहवा–दुवई उडान सुरु गर्ने

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भोलि (शुक्रबार) देखि भैरहवा–दुवई उडान सुरु गर्ने भएको छ ।  निगमले साताको चार दिन भैरहवा–दुबई उडान गर्न लागेको हो । निगमले आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९ः३० बजे काठमाडौंबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्नेछ ।

    भैरहवा विमानस्थलबाट निगमसँगै संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको वायुसेवा थाई एयर एसियाले नियमित उडान गर्ने तय भएको छ ।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विमानस्थलबाट यसअघि नै थाई एयर एसियाले कात्तिक १८ गतेदेखि उडान सुरु गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाई एअर एसियाले भैरहवाबाट साताको दुई दिन उडान गर्ने छ । भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुवाती भाडा दर १२ हजार रुपैयाँ रहेको छ ।

    त्यस्तै कात्तिक २४ गते फ्लाई दुबई र कात्तिक २५ गतेदेखि जजिरा एयरवेजले उडान गर्ने तय भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल भैरहवाबाट नेपाल एयरलाइन्ससहित चार वटा वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् । त्यस्तै कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी पनि आउन इच्छुक रहेको निगमले जनाएकाे छ । उनीहरूको उडान तालिका भने स्वीकृत भइसकेको छैन ।


    images

    Logo