काठमाडौं । सरकारले अवैध रुपमा बाह्य मुलुकमा रोजगारीका लागि बसेका महिला श्रमिकलाई श्रम स्वीकृति दिने भएको छ । आज श्रम मन्त्रालयमा भएको समसामयिक विषय छलफल कार्यक्रममा श्रम मन्त्री शरत्सिंह भण्डारीले खाडीका देश र मलेसियामा अवैधानिक रूपमा बसेका कामदारलाई श्रम स्वीकृति दिने निर्णय भएको बताएका हुन् ।
उनले सरकारले यस विषयमा ठोस निर्णय गरेको र चाँडै कार्यन्वयनमा ल्याउने पनि बताए । खाडी र मलेसियामा कार्यरत कामदार धेरै बस्दा उनीहरू समस्या पर्ने गरेको उनले बताए ।
सरकारले २०७२ सालयता खाडीका देश र मलेसिया घरेलु रोजगारीमा महिला कामदार पठाउन रोक लगाएको छ । मन्त्रालयका अनुसार खाडीका देश र मलेसियामा अवैध रुपमा करिब सात लाख नेपाली महिला कामदार रहेको अनुमान छ । अवैध महिला कामदारहरू मलेसिया, साउदी अरब, कुवेत र यूएईमा बढी रहेको मन्त्रालयको अनुमान छ ।


