काठमाडौं । नेपालले लिएको दोहोरो आर्थिक वृद्धिको लक्ष्य अबको ५ वर्षसम्म पनि पूरा नहुने भएको छ । विश्व बैंकले हालै गरेको प्रक्षेपण अनुसार नेपालको आर्थिक वृद्धि अबको ५ वर्षसम्म वार्षिक १० प्रतिशत नछुने भएको हो ।
विश्व बैंकले बुधबार सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशत र २०७९/८० मा ५.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । त्यसो ३ महिना अघि अघि विश्व बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ मा १.४ प्रतिशतको मात्र वृद्धिदर हुने अनुमान गरेको थियो ।
अघिल्लो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत भएको थियो। यो वर्ष नेपालमा रेमिट्यान्स र खोप अभियानको सकारात्मक प्रभाव पर्ने उल्लेख गरिएको छ ।
विश्व् बैंकले नेपालको मात्रै नभएर दक्षिण एसियाली मुलुहरुको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा यो अवधिमा उल्लेख्य सुधार हुने जनाएको छ। भारतको अर्थतन्त्र आगामी वर्ष दोहोरो अंकमा वृद्धि हुने अनुमान गरिएको छ । यो गत वर्ष वृद्धिदर माइनस ८.५ प्रतिशत रहेको भारतमा चालु आर्थिक वर्षमा १०.१ प्रतिशतसम्म आर्थिक वृद्धिदर पुग्ने प्रक्षेपण गरिएको छ।
सन् २०२० मा माइनस दक्षिण एशियाले ५.४ प्रतिशतको नकारात्मक वृद्धिदर व्यहोरेको थियो । यो वर्ष यो क्षेत्रमा ७.२ प्रतिशतको औसत वृद्धिदर हासिल हुने पूर्वानुमान गरिएको छ। सन् २०२२ मा भने यो क्षेत्रमा ४.४ प्रतिशतको वृद्धिदर रहने विश्व बैंकको अनुमान छ ।


