images
images

‘केयरगिभर’मा उत्तीर्ण भएका सबै नेपाली श्रमिकलाई इजरायलले क्रमशः लैजाने


  • 354
    SHARES
  • २०८१ मंसिर १३ गते बिहीबार

    ‘केयरगिभर’मा उत्तीर्ण भएका सबै नेपाली श्रमिकलाई इजरायलले क्रमशः लैजाने

    काठमाडौं । इजरायलले ‘केयरगिभर’मा उत्तीर्ण सबै नेपाली श्रमिकलाई क्रमशः लैजाने प्रतिबद्धता जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग हिजो भएको भेटमा नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ‘केयरगिभर’का रूपमा छनोट भएका नेपाली कामदारहरूलाई यथाशीघ्र इजरायल पठाउने र कामदारको स्रोत देशका रूपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले मन्त्री भण्डारी र राजदूत बासबीच  कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउनका लागि पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हकअधिकार संरक्षण र सुरक्षालगायत विषयमा दुवै देशबीच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

    राजदूत बासले नेपाली कामदार केयरगिभिङका क्षेत्रमा उत्कृष्ट रहँदै आएको र हाल इजरायलमा युद्ध विरामसमेत घोषणा भइसकेको हुँदा उत्तीर्ण भएका सबै नेपाली कामदारहरूलाई क्रमशः लैजाने जानकारी गराएका थिए । उनले नेपाली कामदारहरूलाई कृषि, निर्माणलगायत अन्य क्षेत्रमासमेत लैजान सकिने बताए ।

    मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाइमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताए ।


    images

    Logo