images
images

विभाजनको अन्तिम तयारीमा जीफन्ट, विष्णु लम्सालको नेतृत्वमा नयाँ महासंघ घोषणाको तयारी

जीफन्टका घटकमा संगठन परित्याग तीव्र, रवि केसीले छोडे यातायात मजदूर संगठन


  • 2.6K
    SHARES
  • २०७८ कार्तिक १२ गते शुक्रबार

    विभाजनको अन्तिम तयारीमा जीफन्ट, विष्णु लम्सालको नेतृत्वमा नयाँ महासंघ घोषणाको तयारी

    काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) निकट मजदूरहरुले नयाँ ट्रेड युनियन महासंघ खोल्ने प्रक्रिया अघि बढाएका छन् । हाल नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) मा आवद्ध रहेका उनीहरुले नयाँ महासंघ गठनको प्रक्रिया अघि बढाएका हुन् । 

    नयाँ महासंघको नेतृत्व गर्न लागेका लम्साल यसअघि जीफन्टको अध्यक्षका प्रत्यासी थिए । जीफन्टका वर्तमान अध्यक्ष विनोद श्रेष्ठसँग बराबरी मत पाएका उनले गोलाप्रथाको आधारमा संगठनको अध्यक्ष गुमाएका थिए । नयाँ बन्ने महासंघमा हालै मात्र कारबाहीमा परेका जीफन्टका उपाध्यक्ष दीपक पौडेल, उपमहासचिव दिनेश राई लगायत छन् । 

    अहिले महासंघमा आवद्ध हुन विभिन्न ११ वटा मजदूर संगठनहरु नयाँ दर्ताको तयारीमा छन् । ती संगठनहरुको दर्ता प्रमाणपत्रका लागि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले दाबी विरोधका कात्तिक लागि १५ दिनको सूचना प्रकाशित गरेको छ । यो अवधि सकिएपछि ती संघहरुले प्रमाणपत्र पाउने र त्यसपछि महासंघ गठनको घोषणा हुने जीफन्टका निवर्तमान उपाध्यक्ष पौडेलले बताए । नयाँ महासंघको नाम नेपाल ट्रेड युनियन महासंघ (एकीकृत) राख्ने तयारी गरिएको छ । 

    ‘विभागले १५ गतेसम्म दाबी विरोधको समय तोकेको छ, यो सकिएपछि १६ गते प्रमाणपत्र दिन्छं । त्यो दिन प्रमाणपत्र पायौैं भने १७ गते नयाँ महासंघ घोषणा हुन्छ,’ पौडेलले भने, ‘ट्रेड युनियन महासंघ पार्टी भन्दा माथि हुन्छ । पार्टीको एजेन्डा भन्दा श्रमिकको एजेन्डा महत्वपूर्ण हुन्छ । तर जीफन्टमा त्यो अवस्था नभएपछि संगठन पुनगर्ठन गर्न लागिएको हो ।’

    जीफन्टका घटकबाट धमाधम संगठन परित्याग

    नयाँ महासंघ गठनको तयारी अघि बढेसँगै जीफन्टका घटक विभिन्न संगठनमा संगठन परित्यागको क्रम तीब्र बनेको छ । महासंघको सबैभन्दा महत्वपूर्ण घटक संगठन मानिने नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका मेन्द्रीय सचिव रबि केसीले बिहीबार मात्रै जीफन्ट र संगठन दुवै परित्यागको घोषणा गरे । 

    संगठन त्यागको घोषणा गर्दै उनले श्रमिकको आवाजमा बोल्नुपर्ने जीफन्टले गलत व्यक्तिको हातमा पुगेको र यो मालिकहरुको स्वार्थ पूरा गर्ने ठाउँ बनेको भन्दै त्यसलाई सही ट्रयाकमा ल्याउने प्रयास सफल नभएपछि परित्यागको घोषणा गरेको बताए । महासंघभित्र फरक फरक विचारको अस्थित्व हुने भए पनि पछिल्लो समय जीफन्टमा रहन एमाले नै बन्नुपर्ने र फरक विचार समूहलाई अट्नै नसक्ने अवस्था भएपछि संगठन परित्यागको घोषणा गरेको बताए । 

    अहिले जीफन्ट अन्तर्गत १४ वटा घटक संगठनहरु छन् । त्यसमध्ये सबैभन्दा सक्रिय मानिने यातायात, पर्यटन, होटल, सडक स्वरोजगार, अटो मेकानिकल लगायत क्षेत्रबाट संगठन परित्यागको घोषणा तीव्र बनेको छ । 


    images

    Logo