images
images

पुस १७ गतेदेखि सगरमाथामा व्यावसायिक हेलिकप्टर उडान गर्न नपाइने


  • 361
    SHARES
  • २०८१ मंसिर २७ गते बिहीबार

    पुस १७ गतेदेखि सगरमाथामा व्यावसायिक हेलिकप्टर उडान गर्न नपाइने

    काठमाडौं । आउँदो जनवरी १ अर्थात पुस १७ गतेदेखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाइएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा खुम्बु क्षेत्रमा रहेका स्थानीय सरोकारवाला सरकारी गैरसरकारी सङ्घरसंस्थाहरुको बैठकले हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको हो ।

    अनियन्त्रित रुपमा हुने गरेको हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको तथा खुम्बु क्षेत्रको स्थानीय व्यापार, व्यवसाय तथा रोजगारीमा समेत नकारात्मक असर परेको जनगुनासो रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

    पर्यटक तथा स्थानीयको उद्धार र मालसामान ढुवानीका लागि प्रयोग गरिने हेलिकप्टरहरुबाहेक अरु व्यावसायिक रुपमा सञ्चालन हुने हेलिकप्टरहरु पुस १७ गतेदेखि पूर्णरुपमा रोक लगाउने निर्णय भएको हो ।

    पर्यटकको उद्धार गर्नुपर्ने अवस्था आएमा नजिकैको स्वास्थ्य संस्था, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति तथा वडा कार्‍लयको लिखित वा मौखिक सिफारिशपछि मात्रै उडान अनुमति दिने निकुञ्जले जनाएको छ ।

    उद्धार उडान गर्नुपर्ने अवस्था आएमा निकुञ्जबाट पूर्वसहमति लिई हेलिप्टर अवतरण गर्ने ठाउँ तय गर्नुपर्ने, उद्धार हुने व्यक्तिको विवरण अनिवार्य रुपमा निकुञ्ज कार्यालयमा पेश गर्नुपर्ने, हेलिकप्टरमा उद्धार गरिनुपर्ने पर्यटकबाहेक अरु पर्यटकहरु ओसारपसार गर्न नपाइने र उद्धार भएका पर्यटकको स्वास्थ्य जाँच गर्नका लागि अनिवार्य रुपमा लुक्लाको पासाङ ल्हामु निकोल निक्की अस्पताल पुर्‍याउनुपर्ने निर्णय पनि भएको छ ।

    यस्तै स्थानीय अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाको लागि सम्बन्धित वडा कार्यालय वा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सिफारिशको आधारमा निकुञ्ज कार्यालयबाट अनुमति लिनुपर्नेछ । 


    images

    Logo