काठमाडौं । इजरायल-हमास युद्ध चलिरहेका बेला भारत हुँदै १ हजार ७ सयभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि इजरायल पुगेको पाइएको छ । इजरायल पुगेका अधिकांश नेपाली भारतीय राहदानी बनाएर दलालमार्फत गएको सूचना आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ ।
इजरायलले प्यालेस्टाइनी, लेबनान र इरानमाथि आक्रमण गरिरहेकै बेला भारतीय राहदानी लिएर १ हजार ७ सयभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा इजरायल पुगेका छन् । तीमध्ये कतिपय महिला छन् । यस विषयमा इजरायलस्थित नेपाली दूतावासमार्फत जानकारी लिने काम भइरहेको छ ।
गत वर्ष क्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायल र त्यहाँको छिमेकी देशमा रहेका अतिवादी समूहबीच तनाव बढ्दै गएको थियो । यस्तो अवस्थामा नेपाली कामदार भारतीय राहदानी दिएर इजरायल जानु अति जोखिम रहेकाे मन्त्रालयले जनाएकाे छ ।
युद्धका कारण इजरायल सरकारले कामदार पठाउन बन्द गरे पनि प्रतिकामदार १७–१८ लाख तिरेर नेपाली गइरहेका छन् ।
इजरायल र लेबनानबीच युद्धविराम भइसकेको छ । सरकारले तेलअभिबस्थित नेपाली दूतावाससँग ट्राभल एडभाइजरी पठाउन अनुरोध आग्रह गरेको छ ।
गत भदौमा इजरायलले थप दुई हजार नेपाली कामदारलाई केयरगिभर र स्वास्थ्य क्षेत्रमा लैजान छनोट गरेको थियो । ती कामदार पठाउन दूतावासलाई एडभाइजरी पठाउन अनुरोध गरिसकेका कारण केही समयपछि प्रक्रिया सुरु हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
इजरायल र लेबनानबीच हुन सक्ने युद्धलाई दृष्टिगत गरेर गत असोजमा इजरायलस्थित नेपाली दूतावास र लेबनान हेर्ने कायरो दूतावासले सुरक्षित हुन त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको थियो । इजरायल र लेबनानबाट एक हजारभन्दा बढी नेपालीले स्वदेश फर्किन फाराम भरे पनि अन्तिममा युद्धविराम भएपछि उतै बसेका छन् ।


