images
images

१८ प्रतिशतले बढे वैदेशिक रोजगारीमा जाने नेपाली, ५ महिनामा सवा ३ लाखले लिए श्रम स्वीकृति


  • 428
    SHARES
  • २०८१ पौष १० गते बुधबार

    १८ प्रतिशतले बढे वैदेशिक रोजगारीमा जाने नेपाली, ५ महिनामा सवा ३ लाखले लिए श्रम स्वीकृति

    काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या १८.६८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएको हो ।

    वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिना (साउन, भदौ, असोज, कात्तिक र मंसिर)मा कुल तीन लाख २५ हजार ८०९ जनाले वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

    अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा दुई लाख ७४ हजार ५१७ जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए ।

    अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा थप ५१ हजार २९२ जनाले श्रम स्वीकृति लिएका छन् । 

    वैदेशिक रोजगारीमा जानेहरूलाई अन्तिम श्रम स्वीकृति विभागले दिने गर्छ । गत मंसिर महिनामा मात्र विभागले ८४ हजार २२६ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।

    Foreign employment curve.jpg
    स्राेत : वैदेशिक रोजगार विभाग

    विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९० र मंसिरमा ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

    यस्तै, गत आर्थिक वर्ष २०८०/०८१ को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२ र मंसिरमा ६८ हजार २०१ जनाले श्रम स्वीकृति लिएका थिए । 

    चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा औसतमा प्रत्येक महिना ६५ हजार १६१ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । श्रम स्वीकृति लिनेक्रम यही गतिमा भइरहे चालु आर्थिक वर्षमा करिब आठ लाख नेपाली वैदेशिक रोजगारीमा जाने देखिन्छ । 


    images

    Logo