काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग मागेको विश्वासको मत असफल भएको छ । सोमबार बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशमा ओलीले प्रतिनिधिसभामा तत्काल कायम रहेको संसदको बहुमत सदस्यको समर्थन प्राप्त गर्न नसकेका हुन् ।
प्रतिनिधिसभामा हाल २ सय ६१ सांसद छन् । त्यसमध्ये बहुमत प्राप्त गर्न १ सय ३१ सांसदको समर्थन आवश्यक पथ्र्यो । तर ओलीको प्रस्तावको पक्ष अर्थात् हुन्छ भन्ने पक्षमा ९३ सांसदले मात्रै मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्ष अर्थात् ‘हुन्न भन्ने पक्षमा १२४ मत परेको थियो । तटस्थ अर्थात् मत दिन्न भन्ने पक्षमा १५ मत परेको थियो । संसदमा २९ जना भनने अनुपस्थित थिए ।
प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नभएसँगै ओली स्वतः पदमुक्त भएका छन् । अब नयाँ सरकारको गठनको प्रक्रिया अघि समेत बढेको छ । यद्यपि अर्को सरकार गठन नभएसम्मका लागि ओलीले नै कामचलाउ प्रधानमन्त्री रहनेछन् ।
आजको वैठकमा एमालेका माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु अनुपस्थित थिए । उनीहरु सिंहदरबारमा बसेर संसदको लाइभ हेरिरहेका थिए । एमालेकै सांसद समेत अनुपस्थित भएपछि उनले आफ्नो पार्टीको सिटसंख्या भन्दा पनि कम मत प्राप्त गरेका हुन् ।


