images
images

अवैध रुपमा मलेसिया पसेका १२ नेपाली कामदार पक्राउ


  • 382
    SHARES
  • २०८१ पौष २४ गते बुधबार

    अवैध रुपमा मलेसिया पसेका १२ नेपाली कामदार पक्राउ

    काठमाडौं । मलेसिया सरकारले अवैधानिक रूपमा बसेका कामदारलाई पक्राउ गर्न थालेको छ । जनवरी ३ देखि मलेसियन अध्यागमन विभाग र प्रहरीले अवैध रूपमा बसोबास गर्दै आएका विदेशीलाई पक्राउ गर्न थालेका हुन् । 

    अहिलेसम्म १२ जना नेपाली पक्राउ परेको मलेसियास्थित नेपाली दूतावासले जनाएकाे छ । जनवरी ३ मा चारजना पक्राउ परेका थिए । त्यसपछि थप आठजना पक्राउ परेका हुन् ।

    पूर्वी मलेसियाको जोहरबारु क्षेत्रका बाटु पहाट, मेर्सिङ, मुआर र सेगामाटमा एकैसाथ गरिएको धरपकडमा दुई सयभन्दा बढी विदेशी कामदार पक्राउ परेको मलेसिया स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    विदेशी कामदारले अध्यागमन ऐन तथा नियमावली उल्लंघन गरेर बसेका कारण धरपडक गर्नुपरेको जोहोर अध्यागमन विभागका निर्देशक दातुक मोहम्मद रुस्दी दारुसलाई उधृत गर्दै मलेसियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनले अवैधानिक विदेशी कामदारविरुद्धको कारबाही जारी रहेको बताएका छन् ।

    पक्राउ पर्नेमा नेपाली, भारतीय, म्यानमारी, थाई, बंगलादेशी, इन्डोनेसियाली, पाकिस्तानी छन् । मलेसियाले विदेशी कामदारको नयाँ भर्नाका बारेमा ताजा निर्णय लिनुअघि अवैधानिक अवस्थामा बसेका विदेशी कामदारलाई वैध बनाउन र देश निकालालाई तीव्रता दिएको छ ।

    मलेसियामा जारी दोस्रो श्रम रिक्यालिब्रेसन कार्यक्रम (आरटीके २) ३१ मार्चसम्म सञ्चालन हुने छ । पक्राउ परेका विदेशीलाई मलेसियाले निश्चित रकम जरिबाना तिराएर ५ वर्षसम्म कुनै पनि कामका लागि आफ्नो प्रवेशमा रोक लगाउँछ । अवैधानिक विदेशी कामदारको अनलाइन दर्ता र वैधानिकीकरणको कामको अनुगमन टोली घटाइएको छ ।


    images

    Logo