काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैगर्दा उनकै पार्टी नेकपा एमालेको माधब नेपाल पक्षका नेता संसदमा उपस्थित भएनन् । सोमबार सो पक्षको बैठकले राजीनामा पनि नदिने र विश्वासको मतमा समर्थन पनि नजनाउने निर्णय गरेका थिए ।
सो निर्णयसँगै उनीहरु बैठकमा उपस्थित भएनन् । बरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरुले विश्वासको मतको प्रत्यक्ष प्रसारण हेरेर बसेका थिए ।
ओलीले संसदमा जम्मा ९३ जना सांसदको समर्थन प्राप्त गरेका छन् । यो हाल कायम रहेको सांसद संख्याको बहुमत भन्दा कम हो । हाल २ सय ६१ सांसद रहेकोमा बहुमत पुग्न १ सय ३१ सांसदको समर्थन आवश्यक पर्छ ।
त्यसो त माधव नेपाल पक्षका एमालेका २८ जनाले मतदान प्रक्रियामा सहभागिता जनाएनन् । उनीहरुले सहभागिता जनाएकै भए पनि त्यो संख्या समेत अपुग हुने देखिएको छ ।


