काठमाडौं । हाल नेपालमा २८ विमान सेवा कम्पनीका विमानले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । १५ देशका २८ कम्पनीका विमानहरुले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको हो ।
नेपालको ३ कम्पनीका विमानले हाल अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । सरकारी स्वामित्वको नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र बुद्ध एयरले हाल नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । बुद्ध एयरले भने नेपालको आन्तरिकबाहेक भारतको वाराणसीसम्मको अन्तर्राष्ट्रिय उडान भर्ने गरेको छ ।
सबैभन्दा धेरै चिनियाँ कम्पनी
चिनियाँ स्वामित्वको ४ कम्पनीको विमानले हाल नेपालमा उडान गर्दै आएका छन् । एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउथर्न एयरलाइन्स र सिचुवान एयरलाइन्स गरी चीनका ४ कम्पनीका विमानले हाल नेपालमा उडान भर्दै आएका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) र थाइल्याण्डका ३ कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने गरेका छन् । यूएईका एयर अरेबिया, एयर अरेबिया अबु दाबी र फ्लाई दुबईले उडान भर्दै आएका छन् । त्यस्तै, थाइल्याण्डका थाइ एयर एशिया, थाइ एयरवेयज र थाइ लायन कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्ने गरेका छन् ।
नेपालमा २ विमान सेवा कम्पनीबाट उडान भर्ने ४ देश
हाल ४ देशका २–२ वटा विमान सेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय सेवा दिँदै आएका छन् । भारत, मलेसिया, कुवेत र भुटानका २–२ वटा विमान सेवा कम्पनी नेपालमा अन्तर्राष्ट्रिय उडान भर्न सक्रिय रहेका छन् ।
भारतका एयर इन्डिया र इन्डिगो एभिएसन, मलेसियाको बटिक एयर र मलेसिया एयरलाइन्सले नेपालमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । त्यस्तै, कुवेतको जजिरा एयरवेज र जजिरा एयरवेज र भुटानको ड्रुक एयर र टासी एयरका विमानले उडान भर्दै आएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
एक विमान सेवा कम्पनीबाट नेपालमा उडान भर्ने ७ देश
७ देशका १/१ विमान सेवा कम्पनीले हाल नेपालमा उडान भर्दै आएका छन् । कतारको कतार एयरवेज, सिंगापुरको सिंगापुर एयरलाइन्स, साउथ कोरियाको कोरियन एयर र टर्कीको टर्किस एयरलाइन्सले हाल नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने गरेका छन् । त्यस्तै, श्रीलङकाको श्रीलङ्कन एयरलाइन्स, बङ्गलादेशको विमान बङ्गलादेश र हङकङको क्याथी प्यासिफिक इउरवेज पनि नेपालमा अन्तर्राष्ट्रिय उडान भर्न सक्रिय रहेको क्यानले जनाएको छ ।


