images
images

नेपालमै पहिलो पटक एनएमबि बैंकले ल्यायो भी–केवाईसी सिस्टममा, विदेशमा बसेर ५ मिनेटमै खाता


  • 525
    SHARES
  • २०७८ कार्तिक २८ गते आइतबार

    नेपालमै पहिलो पटक एनएमबि बैंकले ल्यायो भी–केवाईसी सिस्टममा, विदेशमा बसेर ५ मिनेटमै खाता

    काठमाडौं । एनएमबि बैंकले नेपालमै पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्समा आधारित भिडियो केवाईसीमार्फत् खाता खोल्ने योजना ल्याएको छ । इन्टरनेट पहुँच भएका स्वदेश वा विदेशका जुनसुकै स्थानमा बसी एनएमबि बैंकसँग भिडियो कलमार्फत् खाता खोल्ने र तत्कालै सक्रिय समेत हुने व्यवस्था सहित यो अवधारणा ल्याइएको हो । 

    अहिलेसम्म अनलाइन खाता भने पनि सक्कल कागजात बोकेर बैंकसम्म पुग्नुपर्ने बाध्यतालाई हटाउँदै सबै कागजातहरु अनलाइनबाटै बुझाउने र अनलाइनबाटै भेरिफाई समेत गर्ने व्यवस्था ल्याइएको हो । यो व्यवस्थाले खासगरी विदेशमा रहेका नेपालीहरुलाई खाता खोल्न र विदेशमा कमाएर पठाएको पैसा सोझै बैंक खातामा जम्मा गर्ने व्यवस्था गर्न सहज हुने बैंकको विश्वास छ । 

    भी–केवाईसीले कसरी काम गर्छ ? 

    nmb.jpg

    यो प्रणालीमार्फत् खाता खोल्ने व्यक्तिले अनलाइन फाराममार्फत् आफ्ना सम्पूर्ण विवरण तथा कागजातहरु पेश गर्नुपर्छ । कागजात पूरा भएपछि बैंकका प्रतिनिधिले सम्बन्धित व्यक्तिसँग भिडियो कल गर्नेछन् । यसरी कल गर्दा भिडियोमा देखिने अनुहारलाई ग्राहकले पठाएको डकुमेन्टको फोटोसँग आर्टिफिसियल इन्टिलिजेन्समार्फत् भेरिफाई गरिन्छ । त्यस्तै, बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकसँग परिचयपत्र भेरिफाई गर्नेछन् । 

    यो प्रक्रिया सम्पन्न भएपछि ग्राहकको खाता सक्रिय हुनेछ । सो खातामा रकम जम्मा गर्न, अरु खातामा ट्रान्सफर गर्न वा सामान्य खातासरह कारोबार गर्न सकिन्छ । यो हुन बढीमा ५ मिनेट मात्रै लाग्ने बैंकले जनाएको छ । 

    तत्कालको लागि यो खातामार्फत् कारोबारको सीमा ५ लाख निर्धारण गरिएकोमा परीक्षण्पश्चात यो सीमालाई हटाउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए । 

    यो व्यवस्थाले विदेशमा रहेका ६०/७० लाख नेपालीलाई विदेशमै बसेर खाता खोल्न र बैंकमा जम्मा गरेर राख्न समेत सहज हुने बैंकले विश्वास लिएको छ । व्यवसायिक रुपमा खाता सञ्चालन गर्नुअघि बैंकले ७ सय १९ वटा खाता समेत खोलिसकेको छ । यी सबै खातामार्फत् ग्राहकले राम्रोसँग कारोबार गर्न सकिरहेको बैंकले जनाएको छ । 

    11.jpg

    अहिले राष्ट्र बैंकले रेमिट्यान्स बचत खातामा १ प्रतिशत बढी बयाजदर दिन पाउने व्यवस्था गरेको छ । यो खातामार्फत् विदेशमा बस्ने नेपालीले रकम जम्मा गरेर सो लाभ समेत लिइरहेको र लिनसक्ने समेत प्रमुख कार्यकारी अधिकृत केसीले बताए । 

    कार्यक्रममा केसीले यो वर्ष नेपालको आयात १८/९ खर्ब पुग्ने र रेमिट्यान्स ८/९ खर्बमा सीमित रहने भएकोले बीचको १० खर्बको ग्यापलाई पूरा गर्न यस्तो खाता सहयोगी हुने विश्वास व्यक्त गरे । 

    बैंकिङ क्षेत्रका अन्य प्रतिस्पर्धीले पनि निकट भविष्यमै यस्तो प्रोडक्ट ल्याउने दाबी गर्दै उनले सबैको प्रयासले बैंकिङ क्षेत्रको समस्या समाधान गर्नुपर्ने धारणा राखे । उनले अहिले विदेशमा बस्ने नेपालीले क्रिप्टोकरेन्सीमा लगानी गरिरहेको हल्ला चलिरहेको भन्दै सहज रुपमा नेपाली बैंकमा खाता खोलेर रकम जम्मा गर्ने व्यवस्थाले यसलाई समेत न्यूनीकरण गर्न सघाउ पुर्याउने उनले बताए । 

    कार्यक्रममा केसीले निकट भविष्यमै बैंकले अर्को ठूलो घोषणा गर्ने भन्दै यसको प्रतिक्षा गर्न समेत आग्रह गरेका थिए । 

    बैंकले आइतबार अभिनेता पल शाहलाई बैंकको ब्राण्ड एम्बास्डर नियुक्त समेत गरेको छ । 


    images

    Logo