images
images

वैदेशिक रोजगारीमा नेपालीको आकर्षण बढ्दो क्रममा, पछिल्लो ७ महिनामा साढे ४ लाखले लिए श्रम स्वीकृति


  • 588
    SHARES
  • २०८१ फाल्गुण १८ गते आइतबार

    वैदेशिक रोजगारीमा नेपालीको आकर्षण बढ्दो क्रममा, पछिल्लो ७ महिनामा साढे ४ लाखले लिए श्रम स्वीकृति

    काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या १५.६६ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिना (साउन १ गतेदेखि माघ मसान्तसम्म)मा वैदेशिक रोजगारीमा जान चार लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृति लिएका छन् । 

    अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट चार लाख दुई हजार ४७७ जनाले श्रम स्वीकृति लिएका थिए ।

    अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान ६३ हजार ३१ जना बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।

    विभागले जारी गरेको विवरण अनुसार, २०८१ साउनदेखि माघ मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिनेमा चार लाख १२ हजार ५५२ जना पुरुष र ५२ हजार ९५६ जना महिला छन् । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये ११.३७ प्रतिशत संख्या महिलाको छ ।

    विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ र माघमा ७२ हजार ४४१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

    यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३ र माघमा ६२ हजार १४७ जनाले श्रम स्वीकृति लिएका थिए ।

    चालु आर्थिक वर्षको पहिलो सात महिनामा औसतमा प्रत्येक महिना ६६ हजार ५०१ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ ।


    images

    Logo