काठमाडौं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन २६ र २७ गते ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१’ काठमाडौंमा आयोजना गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारा सहित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ आयोजना गर्न लागेको जानकारी गराएको हो ।
नेपालको रोजगारीको क्षेत्रमा देखा परेको संकुचनको समाधान, वर्षेनी श्रम बजारमा थपिने नयाँ श्रमशक्तिलाई रोजगारमूलक सेवा प्रदान गर्न र नयाँ रोजगारीको क्षेत्र पहिचान तथा व्यवस्थापन गर्न नेपाल सरकारले आवश्यक नीति र कार्यक्रम तर्जुमा गर्न ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१’ मार्फत सम्पूर्ण सरोकारवालाहरुवाट उचित पृष्ठपोषण प्राप्त हुने अपेक्षा मन्त्रालयको रहेको छ ।
देशमा उत्पादन र उत्पादकत्व वृद्धि गर्दै रोजगारी सिर्जनामा सरकार केन्द्रित हुन सम्मेलनबाट आवश्यक सल्लाह सुझाव लिने तयारी गरिएको बताइएको छ ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गर्ने कार्यक्रम समेत राखिएको छ।


