जुम्ला । गुठीचौर एग्रो फार्मले स्याउ बगैँचामा प्रयोग गर्नका लागि यहाँका किसानबाट रु १८ लाखको गोठेमल खरिद गरेको छ ।
सबै किसानबाट १४ हजार डोका गोठेमल किसानबाट खरिद गरिएको एग्रो फार्मका सञ्चालक मीमबहादुर भण्डारीले बताए ।
किसानले उत्पादन गरेको गोठेमल फार्मले खरिद गरेपछि यहाँका किसानलाई आर्थिक उन्नतिमा केही सहज भएको स्थानीयवासी विष्णु धितालले जानकारी दिए ।
फार्मका लागि आवश्यक पर्ने गोठेमल गुठीचौर एग्रो फार्मले किसानबाट खरिद गरेको हो । माटोमा फसफोरसको कमी भएकाले रु सात लाखको बोनमल पनि फार्मले खरिद गरेको छ ।
स्याउका बिरुवाका लागि रु २५ लाखको मल खरिद गरेको फार्मका व्यवस्थापक केसी भण्डारीले बताए ।
गाई, गोरु र भैँसीको हड्डी कुहाएर बनाइएको बोनमल फार्ममा प्रयोग भएको छ । जलजलामा १५० हेक्टर जमिनमा देशको सबैभन्दा ठूलो फुजी स्याउको बगैँचा निर्माण हुन लागेको सञ्चालक भण्डारीले बताए ।
जिल्लामा झण्डै तीन हजार ४५० हेक्टरमा स्थानीय जातको स्याउ उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । पछिल्लो समयमा जिल्लाका किसान फुजी जातको स्याउ व्यावसायिक खेतीमा आकर्षण भएका छन् ।


