images
images

१३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवस


  • 961
    SHARES
  • २०८२ बैशाख १८ गते बिहीबार

    १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवस

    उन्नाइसौं शताब्दीको सुरुवाती दशक देखि विज्ञानको अभूतपूर्व विकासले वस्तु उत्पादनमा ठूलो प्रगति हुन पुग्यो । उत्पादनको वृद्धिले पूँजीवादको विकास चरम गतिले बढ्यो । वस्तु उत्पादनका प्रत्यक्ष श्रम गरि उत्पादन गर्ने मजदुर वर्गलाई यस विकासको प्रतिफल उपभोग गर्नबाट वञ्चित गरियो । वस्तु उत्पादनमा  मजदुर वर्गको सामुहिक हिस्सेदारी भएता पनि स्वामित्व र उपभोगमा पूँजीपतिहरूले अधिकार जमाए । उद्योगमा मजदुर वर्ग जमातको रुपमा रहने हुँदा उनीहरू संगठित शक्ति हुनपुगे । जर्मनीको १८४८ को क्रान्ति र फ्रान्स को पेरिस कम्युन ( सन् १८७१ ) को प्रभावले अमेरिकी मजदुर वर्गमा वर्गीय जागरण ल्यायो ।

    पूँजीपतिहरूको चर्को शोषणमा परेका अमेरिकी मजदुर वर्ग काम गर्ने  समय घण्टा घटाउन सन् १८७६ मा संघर्षमा उत्रिए । Federation Of Organized  Treades And Labor  Unions United  States & Canada ले राष्ट्रिय सम्मेलन गरि त्यस सम्मेलनद्वारा औद्यौगिक  मजदुर वर्गको  काम गर्ने समय आठ घण्टा  हुनुपर्छ भनी अमेरिकी पूँजीपति तथा सरकार समक्ष माग प्रस्तुत गर्यो । पूँजीपति वर्ग तथा सरकारले यो माग प्रति चासो नदिएको हुँदा  माग पूरा गराउनको निम्ति  १ मे , १८८६ को दिन  आम हडताल गरि प्रदर्शनमा उत्रन सारा अमेरिकी मजदुर वर्गलाई आह्वान गर्यो । 

    अमेरिकी र क्यानाडाली मजदुरहरूले सारा औद्योगिक प्रतिष्ठानहरूमा हडताल गरि जुलुस प्रदर्शनीमा ओर्लिए । मे १, १८८६ को यो जुलुस प्रदर्शनले अमेरिकी पूँजीपति र सरकारको  सातो उडायो । पूँजीपति वर्गले  राज्यसत्ताको दुरुपयोग गरि  मजदुर वर्गमाथि गोलीको वर्षा गर्यो ।  शिकागोका मजदुरहरू माथि भएको गोली वर्षाले कैयौं मजदुरहरू सहिद भए भने कैयौं घाइते भए  । पटकपटकका प्रदर्शनहरूमा  गोली वर्षाएर  मजदुरहरूको हत्या गरे । पक्राउ परेका मध्येका केहीलाई शुलीमा चढाएर हत्या गरे । यति हुँदापनि मजदुर वर्ग आफ्नो अडानबाट टसमस भएनन् । अन्तमा मजदुर वर्गको संगठित शक्ति सामु अमेरिकी पूँजीपति वर्ग र सरकार झुक्न बाध्य भयो । मजदुर वर्गको कामको समय दिनमा आठ घण्टाको हुने कानूनको घोषणा गर्न सरकार बाध्य भयो  ।
        
    अमेरिकी मजदुर वर्गको शहीदको रगतले सफलता पाएको विजयको सन्देश संसारभर फैलियो  सहिद मजदुरहरू प्रति सम्मान अर्पण गर्न विश्वभरका समाजवादीहरु र मजदुर प्रतिनिधिहरू फ्रान्सको पेरिसमा सन् १८८९  जुलाई १ तारिखमा भेला भइ अन्तर्राष्ट्रीय सम्मेलन गरि सहिद मजदुरहरूको सम्मानमा मे १ को दिनलाई संसारभर मजदुर दिवसको रुपमा मनाउने घोषणा गरे । तत्पश्चात हरेक वर्ष मे १ को दिनलाई मजदुर दिवस वा श्रमिक दिवसको रुपमा मनाइन्छ ।
        
    हाम्रो देश नेपाल पश्चिमी जगत भन्दा औद्योगिक प्रतिष्ठानहरू स्थापना गर्नेमा धेरै कान्छो छ । यहाँ सन् १९३६ ( वि. सं. १९९२/१९९३ साल ) बाट विराटनगरमा जुट मिल, कटन मिल, सुगर मिल ,बविन एण्ड प्लाइउड कम्पनी, द जुद्ध मैच फ्याक्ट्री , केमिकल इण्डष्ट्री आदि उद्योगहरूको स्थापनापछि आधुनिक औद्योगको क्षेत्रमा प्रवेश गरेको हो । यी उद्योगहरूमा संगठित रुपमा काम गर्ने मजदुरहरूले  वि. सं. २००३ सालमा मजदुर वर्गको ज्याला वृद्धि,  ट्रेड युनियन गठन गर्ने अधिकारका साथै आफ्ना हकहितका मागहरू अगाडि सारी हडताल गरे । यो हडताल नेपालका औद्योगिक मजदुर वर्गको पहिलो हडताल हो । यस हडतालले मजदुर वर्गमा राजनीतिक चेतना समेतको विकास गरायो र मजदुर वर्ग प्रजातान्त्रिक राजनीतिक अधिकारका माग सहित संघर्षमा उत्रिए । यस आन्दोलनको प्रभाव काठमाडौ र विरगञ्जका मजदुर वर्गमा समेत विस्तार भई  मजदुर वर्गका हकहितका साथै  नागरिक अधिकार समेतको राजनीतिक मागहरू अगाडि सारी प्रदर्शनमा उत्रिए ।
       
    नेपालको औद्योगिक मजदुरहरूको राजनीतिक चेतनाको विकासको साथै उनीहरूको राजनीतिक नेतृत्व गर्ने नेपाल कम्युनिष्ट पार्टीको  स्थापना घोषणापत्रका साथ विधिवतरुपमा १५ सेप्टेम्बर १९४९ मा भयो । मजदुर वर्गको आफ्नै पार्टी स्थापना पश्चात नेपाली मजदुर वर्गले अन्तर्राष्ट्रिय मजदुर वा श्रमिक दिवस मे १ का दिन मनाउन थालेको हो ।
       
    आज मे १ तारिख  २०२५ हो , अर्थात  १३६ औ अन्तर्राष्ट्रीय मजदुर दिवस । यस अवसरमा मजदुर वर्गको हकहितका निम्ति सहिद हुनु भएका वीर मजदुर शहीदहरूप्रति सादर सम्मान गर्दछ । वीर क्रान्तिकारी मजदुर शहीदहरू अमर रहुन ।
        मिति :- २०८२ बैशाख १८          
        तदनुसार १ मे , २०२५




    images

    Logo