images
images

चिसापानी भिरचोक सामुदायिक घरबासतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दो


  • 491
    SHARES
  • २०८२ बैशाख २१ गते आइतबार

    चिसापानी भिरचोक सामुदायिक घरबासतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दो
    गण्डकी । रुपा गाउँपालिका भिरचोक गाउँका भोजबहादुर गुरुङ र उनकी श्रीमती छलुको घरआँगन देख्दै चिटिक्क छ । घरको मूल ढोकाको छेउमा भिरचोक सामुदायिक होमस्टे (घरबास)नं ९ लेखिएको सूचना झुण्ड्याइएको छ । 
     
    उनीहरूले घरमा तीनवटा कोठा घरबासका लागि छुट्याएका छन् । बाहिर घरआँगन मात्र होइन गुरुङ दम्पतीले पाहुनाका लागि छुट्याएका कोठा सजाएर राखेका थिए । कोठामा प्रयोग गरिने सिरकडसना पनि सफा छन् । उनका एक छोरा र एक छोरी वैदेशिक रोजगारीमा हुनुहुन्छ भने दुई छोरा र एक छोरी पोखरामा बस्छन् । 
     
    छोराछोरी बाहिर भए पनि उहाँहरू होमस्टेका माध्यमबाट पर्यटकलाई स्वागत गरिरहेका छन् । यहाँ आउने पाहुनालाई राख्ने पालो आएसँगै अतिथिलाई न्यानो आतिथ्यता प्रदान गर्दै आइएको गुरुङले बताए। होमस्टेको नियम अनुसारका ‘प्याकेज’मा कुनै कमी नहुने गरी उहाँहरूले बेलुकाको खाजा नास्तादेखि खाना र बिहानको खाजा खुवाउने गरेका छन् । प्योकजका लागि प्रतिव्यक्ति रु एक हजार २०० निर्धारण गरिएको छ ।
     
    कतिपय सुन्दर गाउँ रोजगारी तथा सुविधाको खोजीका नाममा खाली हुँदै गइरहेको अवस्थामा गुरुङ दम्पतीले गरेको यो प्रयास अरुका लागि पनि अनुकरणीय देखिन्छ । पेसाले भारतीय सेनामा रोजगारी गरी निवृत्त भएर गाउँ फर्किएका गुरुङ ५१ सालपछि यहाँ बस्दै आएका थिए । गाउँको स्वच्छ हावपानी छोडेर सहरतिर जान मन नलाग्ने बताउँदै उनले पछिल्ला समयमा गाउँमा सबै किसिमका सेवा सुविधा आइसकेका उल्लेख गरे । 
     
    “पहिला गाउँमा खानेपानीको ठूलो दुुःख थियो, अहिले भने घरघरमा खानेपानीको सुविधा आएको छ”, उनले भने, “पानीसँगै गाउँमा बाटो कलोपत्र भइसकेको छ, यहाँ सुविधा सबैजसो आइसकेको छ ।” पानीको चरम असुविधाका बखत सबैभन्दा पहिले वल्र्ड भिजन भन्ने संस्थाबाट वर्षाको पानी सङ्कलन गर्नेगरी घरघरमा घैँटो निर्माण गरिदिएको भन्दै उहाँले त्यसपछि स्थानीय खानेपानी आयोजनाबाट पानीको सुविधा प्राप्त भइरहेको जानकारी गराए।
     
    गाउँको पर्यटकीय सुन्दरता र सम्भावनालाई दृष्टिगत गरी विगत एक वर्षयता यहाँका चिसापानी र भिरचोक गाउँको संयुक्त प्रयासमा चिसापानी भिरचोक सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको होमस्टेका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए।
     
    होमस्टे सञ्चालनको सुरुवातसँगै विगतमा गाउँ छोडेका पनि क्रमशः फर्कन थालेका बताउँदै उनले आँफूहरू होमस्टेका माध्यमबाट गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्ने अभियानमा जुटेको उल्लेख गरे। 
     
    यहाँस्थित चिसापानी गाउँ करिब एक हजार ३६५ मिटर उचाइमा रहेको छ, भने नजिकै १० मिनेटको पैदलयात्रापछि भिरचोक गाउँ पुगिन्छ । समुद्री सतहबाट करिब एक हजार २३३ मिटर उचाइमा भिरचोक गाउँ रहेको छ । चिसापानी र भिरचोक गाउँको संयुक्त प्रयासमा यहाँका ३० घरमा होमस्टे सञ्चालन भइरहेको अध्यक्ष गुरुङले बताए। 
     
    उनका अनुसार भिरचोकका ११ घर र चिसापानीका १९ घरमा होमस्टे सञ्चालन गरिएको छ । यहाँका होमस्टेमा पाहुनाका लागि सकेसम्म आफ्नै खेतबारीमा उत्पादन भएको प्राङ्गारिक खाना खुवाउने गरिन्छ । त्यस्तै सांस्कृतिक रूपमा उहाँका स्थानीयले पाहुनालाई गुरुड संस्कृति अन्तरगतका सोराठी, घाटु, चरित्र, चुड्का, झोरा जस्ता विभिन्न नृत्य देखाउने गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
     
    पर्यटकले यहाँस्थित हात्तीमता भ्यु प्वाइन्टसँगै नेपालको सबैभन्दा अग्लो झण्डाको साथमा रुपाकोट काल भैरवको मन्दिर, दुर्गादेवी मन्दिर, शिव, कमलादेवी, सरस्वती बराज्युलगायत धार्मिक एवं ऐतिहासिकस्थल अवलोकन गर्न पाउँछन् । 
     
    त्यस्तै चिसापानी मन्दिर, थाप्ले भ्यु प्वाइन्ट, बराह थोक भ्यु प्वाइन्ट, माझकोट भ्यु प्वाइन्ट, रुपाकोट रिसोर्ट, हरियो वन जङ्गल आदिको दृश्यावलोकन गर्न पाउँनु यहाँको विशिष्टता हो । यहाँबाट माछापुच्छे«, अन्नपूर्ण, लमजुङ हिमालका हिमाली दृश्यसँगै रुपा ताल, बेगनास ताल, फेवातालसहित पोखराको मनोरम दृश्य नियाल्न सकिन्छ ।
     
    यस ठाउँमा तनहुँको दमौलीसहित पावर हाउस, ताल चोकलगायत स्थानबाट सवारीसाधनमार्फत आउन सकिन्छ । यस होमस्टेको संस्थागत विकासको विषयलाई गाउँपालिकाले प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए। यस ठाउँको पर्यटन प्रवर्द्धनसँगै बेलायती युवराज चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेकको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको उनले बताए ।
     
    होमस्टे सञ्चालनलाई व्यवस्थित, प्रभावकारी बनाउने उद्देश्यका साथ यहाँका सञ्चालकलाई असल अभ्यास भएका अन्य होमस्टेमा अवलोकन भ्रमण गराइएको उनले जानकारी दिए। पछिल्ला समयमा होमस्टेमा संस्थागत रूपमा विभिन्न समूह आउने गरेको यहाँका होमस्टे सञ्चालक बताउँछन् ।
     
    हालै प्रेस क्लब गण्डकीको संयोजनमा पोखरामा विभिन्न सञ्चारमाध्यममा क्रयाशील सञ्चारकर्मीले यस होमस्टेमा प्रवर्द्धनात्मक भ्रमण गरेका क्लबका अध्यक्ष एकराज गिरीले जानकारी दिए। “विभिन्न स्थानमा सञ्चालनमा आएका होमस्टेको प्रवर्द्धनसँगै त्यहाँ गरिएका असल अभ्यासको प्रवर्द्धनात्मक कार्यक्रमका माध्यमबाट प्रचारप्रसारलाई हामीले जोड दिएका छौँ”, उनले भने, “चिसापानी भिरचोक सामुदायिक होमस्टेमा दीर्घकालीन सञ्चालनका धेरै सम्भावना देखिएको छ ।” 


    images

    Logo